उपचार गरेर आएको भोलिपल्टै राष्ट्रकवि घिमिरे अस्पताल भर्ना

२० जेष्ठ २०७५, आईतवार ०६:१२

जेठ २०, काठमाडौं ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि फेरि अस्पताल भर्ना भएका छन् ।

घिमिरेलाई आइतबार बिहान उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल भर्ना गरिएको हो ।

उनी भारतको मेदान्त अस्पतालमा उपचार गराएर शनिबार मात्रै स्वदेश फर्किएका थिए । उनको हाइ केयर युनिटमा राखेर उपचार भइरहेको छ ।

राष्ट्रकवि घिमिरेलाई बाइल्याट्रल निमोनिया भएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । सानो आन्द्रामा भएको रक्त स्राव नरोकिएपछि उनलाई थप उपचारका लागि दिल्ली लगिएको थियो ।

दिल्लीमा इन्डोस्कोपीपछि उनको सानो आन्द्रामा दुई ठाउँ हलुका घाउ भएको पत्ता लागेको थियो । ती घाउलाई लेजर प्रबिधिबाट डामिएको थियो ।