मेस्सीले खोेसेका थिए नाइजेरीयन कप्तान ओबीका अवार्ड, कठीन परिस्थितिमा भेट पुुनः

१२ असार २०७५, मंगलवार ०७:२४

असार १२, काठमाडौं । द गार्जियन

नाइजेरियाका मिकेल जोन ओबी र अर्जेन्टिनाका लियोनल मेस्सी अहिले विश्वकपको कठीन परिस्थितिमा भेट भएका छन् ।

अहिले अर्जेन्टिना जित्नै पर्ने दबावमा छ भने नाइजेरिया अर्जेन्टिनालाई रोकेर आफू अघि बढ्ने मनस्थितिमा । यसमा मिकेल नाइजेरियाका लागि र मेस्सी अर्जेन्टिनाका लागि महत्वपूर्ण छन् ।

एकअर्कासँगको यस्तो कठीन परिस्थिति उनीहरु दुवैका लागि पहिलोपटक परेको भने होइन । नाइजेरियाका कप्तान मिकेलले हाँस्दै भने, ‘हो मेस्सीले मेरो गोल्डेन बल खोसेका थिए ।’

मिकेलले मेस्सीसँगको त्यो रोचक घटना हिजै भएको झैँ मजाले सुनाए । कुरा सन् २००५ को युथ वर्ल्ड युथ च्याम्पियनसिप फुटबलको हो । जहाँ मिकेलकै उत्कृष्ट खेलको सहायताले टिम नाइजेरिया र मेस्सीको महत्वपूर्ण भूमिकामा अर्जेंन्टिना फाइनलमा पुगेका थिए ।

‘फाइनल खेल हुनुअघि सबैले भनेका थिए प्रतियोगिताभर राम्रो गरेकाले उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल मैले नै पाउँदै छु’ मिकेलले भने, ‘तर फाइनलमा मेस्सीले दुई गोल गरे । दुवै गोल पेनाल्टीमा थियो । अर्जेन्टिनाले खेल २-१ ले जित्यो अनि म त सिल्भर बलमा सीमित भएँ ।’

मजाले हाँस्दै मिकेलले पुरानो दिन सम्झिए, ‘मेरो नाममा चढ्नै लागेको गोल्डेन बल त मेस्सीले पाइहाले नि ।’

नाइजेरियाका लागि अर्जेन्टिनी संयोग यतिमा मात्रै सीमित छैन । नाइजेरियाले सन् १९९४ मा पहिलो पटक विश्वकप खेल्दा पनि अर्जेन्टिना नै सामने परेको थियो ।

आफ्नो छैठौँ विश्वकप खेलिरहेको नाइजेरिया पाँच पटक त अर्जेन्टिनासँग एउटै समूहमा परेको छ ।

सन् १९९४ को विश्वकपमा समूह चरणमा बुल्गेरिया र गि्रसलाई हराउँदा नाइजेरिया अर्जेन्टिनासँग भने पराजित भएको थियो । त्यसबेला २-१ ले हारेको नाइजेरियन खेल डिएगो म्याराडोनाका कारण पनि चर्चित छ । त्यही खेलपछि म्याराडोना लौगुऔषधका कारण विश्वकप पूरा नहुँदै घर पठाइएका थिए ।

त्यसपछि सन् १९९८ मा भेट नभएका दुई टिम त्यसपछिका विश्वकपमा पनि एउटै समूहमा छन् ।

नाइजेरिया अर्जेन्टिनासँग सन् २००२ को विश्वकपमा १-० ले, सन् २०१० मा पनि १-० ले २०१४ मा ३-२ ले पराजित भएको थियो । सन् २०१० मा घाइते रहेर नखेलेका मिकेलले सन् २०१४ भने अर्जेन्टिनाविरुद्ध खेलेका थिए ।

सन् २००८ को बेइजिङ ओलम्पिकमा पनि फाइनलमा नाइजेरियालाई नै हराएर अर्जेन्टिनाले गोल्ड मेडल जितेको थियो । जतिबेला एकमात्र गोल एञ्जेल डि मारियाले गरेका थिए ।

सन् १९९६ को ओलम्पिकको फाइनलमा भेट हुँदा भने फाइनलमा नाइजेरियाले अर्जेन्टिनालाई ३-२ ले हराएर स्वर्ण जितेको थियो । यससँगै सन् १९९५ को फिफा कन्फेडेरेसन कपमा नाइजेरिया र अर्जेन्टिनाले गालरहित बराबरी खेलेका थिए ।

फर्केर हेर्दा अर्जेन्टिना र नाइजेरियाबीचको दुई मैत्रीपूर्ण खेलमा भने नाइजेरिया विजयी भएको छ । सन् २०११ को जुनमा भएको खेलमा ४-१ ले हराएको नाइजेरियाले सन् २०१७ को नोभेम्बरमा अर्जेन्टिनालाई ४-२ ले हराएको थियो ।

मिकेल विश्वकपमा अर्जेन्टिनासँगको खराब इतिहास यसपटक भने फेरिनेमा आशावादी छन् । मंगलबार राति पौने १२ बजेका लागि उनीहरु तयार पनि देखिन्छन् ।

क्रोएसियासँग २-० ले हारेको नाइजेरियाले आइसल्याण्डलाई भने २-० ले हराएको थियो । अर्जेन्टिना भने आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएर क्रोएसियासँग ३-० ले हारेको थियो ।

आइसल्याण्ड र क्रोएसियाविरुद्ध खासै राम्रो गर्न नसके पनि आफूहरुविरुद्ध प्रमुख चुनौती मेस्सी नै रहेको मिकेल बताउँछन् । मेस्सीलाई रोक्न सके मात्रै आफूहरुको जित हुने उनको भनाइ छ ।

‘हामीले अन्तिम पटक भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई हराउँदा पनि मेस्सी थिएनन् । उनलाई त्यो बेला किन खेलाइएन त थाहा छैन तर अहिले उनै हाम्रा लागि चिन्ता हुन् ।

किनभने मेस्सी त मेस्सी नै हुन्’ मिकेलले भने, ‘मेस्सीबिना अर्जेन्टिना खासै केही होइन तर पनि टिममा उनीमात्रै त छैनन् नि । यसैले हाम्रो ध्यान खेलमा नै केन्द्रित हुनेछ ।’

सेन्ट्रल मिडफिल्डरका रुपमा चिनिने मिकेल खेलमा उत्कृष्ट तालमेल बनाउँछन् । सन् २००६ देखि २०१७ सम्म इंग्लिस क्लब चेल्सीमा रहेका मिकेल अहिले चाइनिज क्लब टियानजिन टेडामा छन् ।

जे होस् नाइजेरिया र अर्जेन्टिनाले कठीन समयमा परिचित विपक्षी पाएका छन् । ‘मलाई त उनीहरु सबैसँग खेलिसकेँ जस्तो लाग्छ । मैले विश्वकपको अगाडि नै एकजना साथीलाई भनिसकेको थिएँ, हेर है यसपटक पनि अर्जेन्टिना हाम्रै समूहमा हुनेछ’ उनले भने ।