मेलानिया ट्रम्पले लगाएको ज्याकेटको आलोचना, ट्रम्प आफैंले गरे बचाउ

८ असार २०७५, शुक्रबार ०९:४६

असार ८, काठमाडौंं । एजेन्सी

अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले लगाएको ज्याकेटको आलोचना भइरहेको छ । उनी आप्रवासी परिवारबाट अलग्याइएका बालबालिकालाई भेट्न जाँदा लगाएको ज्याकेटमा एक विवादास्पद सन्देश लेखिएको थियो ।

सन्देशमा ‘म वास्तवमै मतलब गर्दिनँ, तिमी गर्छौ ?’ लेखिएको थियो ।

विवाद बढेपछि राष्ट्रपति ट्रम्प आफैंले मेलानियाको बचाउ गरेका छन् । ‘मेलानियाले यो ज्याकेट लगाएर फेक न्युज मिडियाका कुरामा मतलब नगर्ने सन्देश दिएको’ ट्रम्पले ट्वीटमा लेखे ।

ट्रम्पले अमेरिका–मेक्सिको सीमामा आप्रवासीका बालबालिकासँग भेट्न गएकी मेलानियाको कपडामाथि प्रश्न उठाउने मिडियालाई आलोचना गरे । यी बच्चाहरू ट्रम्प प्रशासनको शून्य सहनशीलता नीतिका कारण आमाबुवाबाट अलग्याइएका थिए ।

मेलानियाले बच्चाहरूलाई भेट्न जाँदा यो ज्याकेट लगाएकी थिइनन् । तर सीएनएनका अनुसार, उनी फर्किने क्रममा एन्ड्रज एयरफोर्स बेस पुग्दा चाहिँ यो ज्याकेटमा देखिइन् ।

ट्रम्प सीमामा अमेरिकाको आप्रवासन नीतिका कारण आलोचना खेपिरहेका थिए । शून्य सहनशीलता नीतिका कारण सबै अवैध प्रवासीमाथि कानूनी कारवाहीका कारण उनीहरूलाई जेलमा बन्द गरिएको छ ।

तर बच्चाहरूलाई जेलमा राख्न नमिल्ने भएपछि आमाबुवाबाट छुट्ट्याएर कस्टडी सेन्टरमा राखिएको थियो । तर धेरै विवाद भएपछि ट्रम्पले यो कानूनमा रोक लगाउने शासकीय आदेशमा हस्ताक्षर गरेका थिए ।