मुक्तिनाथ जान दिनमै आउँछन् १२ सय जना, पोखरामा भारतीय पर्यटक बढे

२३ जेष्ठ २०७५, बुधबार १०:१९

जेठ २३, काठमाडौं ।

सरकारको सवारी पास अनुमति लिएर भारतीय पर्यटक आउने गरेका छन् । यतिखेर भारतका उत्तरप्रदेश, विहार, सिक्किम, उत्तराखण्डलगायत स्थानका पर्यटक पोखरा घुम्न आएका छन् ।

पोखरा आउने भारतीय पर्यटक पोखरालाई आधार बनाइ उडानका माध्यमबाट जोमसोम विमानस्थल हुँदै मुक्तिनाथ पुग्ने गरेका छन् । कतिपय पर्यटक सडक मार्ग प्रयोग गरी उक्त स्थानमा जाने गरेका छन् । पछिल्लो समय मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकको संख्या बढिरहेको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बताए ।

‘मोदीको भ्रमणअघि पनि भारतीय दर्शनार्थी आउने गरेका थिए, भ्रमणपछि उनीहरूको संख्यामा वृद्धि भएको छ’, उनले भने । मोदीको भ्रमणपछि दैनिक एक हजारदेखि एक हजार २०० को हाराहारीमा भारतीय दर्शनार्थी आउने क्रम जारी छ ।

भारतका विभिन्न ठाउँमा गर्मी बढेका कारण भारतीय पर्यटकको चाप बढेको नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सन्तोष पोखरेल बताउँछन् । ‘यतिखेर भारतमा गृष्मकालीन बिदा छ, बिदाको उपयोगका साथै धार्मिक स्थलको दर्शन र प्राकृतिकस्थलको अवलोकनको लक्ष्य राख्दै पर्यटक पोखरा र आसपासका क्षेत्र आउने गरेका छन्’, उनले भने ।

भारतबाट आउने पर्यटकमध्ये ९० प्रतिशतले आफ्नै सवारी साधन लिएर आउने गरेको जानकारी दिँदै उनले उनीहरूले पोखरामा सामान्यतः दुई/तीन रात बिताउने गरेको बताए । होटेल एशियाका सञ्चालक धर्म पन्थीका अनुसार पोखराका होटेलमा यतिखेर भारतीय पर्यटकको संख्या उत्साहजनक रुपमा बढेको छ ।

भारतका विभिन्न सहरमा नेपाल पर्यटन बोर्डसहित पर्यटन सम्बद्ध संघ संस्थाले गरेका प्रवद्र्धनात्मक कार्यक्रमको प्रभावकारिताका कारण भारतीय पर्यटकको संख्यामा वृद्धि हुँदै गएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले बताए ।

प्रवर्द्धनात्मक कार्यक्रमका कारण अन्तर्राष्ट्रिय बजारको विश्वास जित्ने क्रम बढिरहेको उनको भनाइ छ । थपलियाका अनुसार सामान्यतः वार्षिक रुपमा हवाईमार्ग हुँदै पोखरा आउने भारतीय पर्यटकको संख्या करीब दैनिक एक हजार रहेको छ भने स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या दुई लाख रहेको छ ।

नेपाल आउने बाह्य पर्यटकमध्ये विगतमा ३० देखि ४० प्रतिशत पर्यटक पोखरा आउने गरेकोमा पछिल्लो समयमा उक्त संख्या बढेर ५० देखि ६० प्रतिशतसम्म पुग्ने गरेको छ ।

पोखरामा पर्यटकलाई लक्ष्य गरी व्यवसायीले एक खर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । पोखरामा हाल दुईवटा पाँच तारे, १४ वटा तीन तारे र अन्य पर्यटकस्तरीय करिब ४०० वटा सुविधा सम्पन्न होटल रहेका छन् ।