निकारागुआ आन्दोलनमा १२१ जनाको मृत्यु, आन्दोलन जारी

२३ जेष्ठ २०७५, बुधबार ०७:१४

जेठ २३, काठमाडौं । एजेन्सी

निकारागुआमा राष्ट्रपति डेनियल ओर्टेगाको सरकारविरुद्ध १८ अप्रिलदेखि चलिरहेको प्रदर्शनमा कम्तीमा १२१ व्यक्तिको ज्यान गइसकेको छ ।

निकारागुआको प्रमुख मानवअधिकार समूहले सरकारविरोधी प्रदर्शनकारी र दंगाप्रतिरोधी प्रहरीबीच ग्रेनाडा शहरमा भएको झडपमा मंगलवार एक युवकको मृत्यु भएको बताएको छ ।

 

हिंसामा १३ सयजना घाइते भएको समूहले बतायो । निकारागुआन सेन्टर फर ह्युमन राइट्सले मसाया शहरमा सप्ताहान्तमा भएको झडपमा दश मानिसको मृत्यु भएको बतायो ।

 

सोमवार ओर्टेगोकी पत्नी र उपराष्ट्रपति रोसारियो मुरिल्लोले विपक्षीहरूसँग वार्ता फेरि शुरू गर्न अपील गरेकी छन् । उनले सरकारी मिडियामा भनिन्, ‘एकअर्कालाई सुन्न र सबै मुद्दामा चर्चा गरौं किनकि यो नै सबै समस्याको समाधान हो ।’