नवजात शिशुको नामाकरण गर्न जनमत संग्रहको आयोजना

१३ असार २०७५, बुधबार ०५:१७

असार १३, काठमाडौं । एजेन्सी

भारतको महाराष्ट्रस्थित गोदिया जिल्लामा एउटा अनौठो उद्देश्यका लागि चुनाव भएको छ ।

त्यहाँको एक दम्पतिले आफ्नो नवजात शिशुको नामाकरण गर्नका लागि जनमत संग्रहको आयोजना गरेका छन् ।

मिथुन बांग र मानसी बांगले गत अप्रिल ५ मा जन्मिएको आफ्नो छोराको उपयुक्त नामकरण गर्नका लागि आफ्ना परिवार, साथीभाई तथा नातेदारको बीचमा जनमत संग्रह गराएका हुन् ।

जुन १५ दिन भएको मतदानमा बांग परिवारका सदस्यहरु, मित्रजन, आफन्त तथा नातेदारहरु मतदाताको रुपमा रहेका थिए ।

रोचक कुरा त के भने उक्त जनमत संग्रहमा पूर्व सांसद नाना पटोले पनि सहभागी भएका थिए ।

जनमत संग्रहमा बच्चाका लागि विभिन्न ३ वटा नाममध्ये आफूलाई सबैभन्दा उपयुक्त लाग्ने नाम छान्न मतदाताहरुलाई विकल्प दिइएको थियो । विकल्पको रुपमा रहेका तीनवटा नामहरु यक्ष, युवान र यौविक थिए ।

जनमत संग्रहमा कूल १ सय ९२ भोट खसे । जसमध्ये ९२ भोटसहित युवान नाम सबैभन्दा धेरै मतदाताको छनोटमा पर्यो । अन्ततः दम्पत्तिले आफ्नो छोराको नाम युवान राखेका छन् ।