जेठ १५, काठमाडौं ।
जिल्ला प्रशासन कार्यालयले काममा लापरबाही गर्ने एनबी कन्स्ट्रक्सनको ठेक्का सम्झौता रद्ध गरेको छ ।
आरुघाट गाउँपालिका आरुआर्वाङस्थित स्थानीय आधारभूत विद्यालय र धार्चे गाउँपालिका लापुस्थित कालरात्री माविको भवन निर्माण गर्न पद्धति विकास सेवा केन्द्र र गुड नेवर्स नेपाल नामक गैरसरकारी संस्थासँग ठेक्का लिएको उक्त कन्स्ट्रक्सनले समयमा काम पूरा नगरेका कारण ठेक्का रद्ध गरिएको हो ।
एक वर्षभित्र बिद्यालय भवन निर्माण गर्ने सम्झौता भए पनि म्याद थप गर्दासम्म काम सम्पन्न नगरेपछि सम्झौता रद्ध गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए ।
ठेकेदारसँगको ठेक्का रद्धपछि विद्यालय निर्माणको जिम्मा व्यवस्थापन समितिलाई दिइएको उनले बताए । समितिले २०७५ असार मसान्तभित्र विद्यालयको निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।
एनवी कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तरगत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्र पठाइएको पनि प्रजिअ भट्टराईले बताए । कार्यालयले कालोसूचीमा राखेपछि उक्त कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निर्माण सम्बन्धी कुनै पनि ठेक्का पट्टामा प्रतिस्पर्धा गर्न नपाउने उनले बताए ।
प्रशासनले यसअघि नै काममा लापरवाही गर्ने ठेकेदार र योजनाको तथ्याङ्क गृह मन्त्रालय पठाइसकेको छ ।
