वीरगञ्जमै मुटु सम्बन्धी रोगको उपचार हुने

११ जेष्ठ २०७५, शुक्रबार १२:४९

जेठ ११, काठमाडौं ।

नेशनल मेडिकल कलेज वीरगञ्जले मुटु सम्बन्धी रोगको उपचारका लागि अत्याधुनिक मेशिन जडान गरेको छ । मेडिकल कलेजले प्रदेश २ मै पहिलो पटक आधुनिक मेशिन जडान गरेको दावी गरेको छ ।

मुटु सम्बन्धी उपचारमा प्रयोग हुने आधुनिक मेशिनहरुको जडानपछि मुटुमा लाग्ने विभिन्न रोगहरुको उपचारमा सहज भएको अस्पतालमा कार्यरत चिकित्सकहरुले बताएका छन् ।

आधुनिक क्याथ ल्याबको स्थापना तीनजना मुटु रोग सम्बन्धी जटिल समस्या भएका बिरामीहरुको सफल उपचार भइसकेको छ ।

जेठ ७ गतेदेखि मेडिकल कलेजले एन्जियोग्राफी, एन्जियोप्लाष्टि विधिमार्फत कार्डिएक स्टेन्टको सेवा सुरु गरेको अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले नेशनल मेडिकल कलेजले प्रदेश २ मा कतै नभएको सेवा ल्याएको दावी गरे ।

कलेजले जेठ १४ गतेसम्म विशेष छुटमा एन्जियोग्राफिको ६ हजार र एन्जियोप्लाष्टि १ लाख २० हजारमा गर्ने जानकारी उनले दिए ।

त्यसैगरी अब अस्पतालले मुटु भित्रको सेल सञ्चालन नभएमा शल्यक्रिया गरी टेम्पोररी, परमानेन्ट पेशमेकर जडान गर्ने, मुटु पानी जमेको अवस्थामा निकाल्ने सेवा समेत दिन सक्ने र आवश्यक भएको खण्डमा वाइपास सर्जरी समेत हुने अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञहरुले बताएका छन् ।

अस्पतालका मुटुरोग विशेषज्ञ डा जितेन्द्र कुमार मिश्रले आधुनिक मेशिन आएपछि जटिल प्रकारका समस्या समाधान गर्न समेत सम्भव भइरहेको बताए ।

डा मिश्रले क्याथ ल्याब स्थापना पछि विगत एक वर्षदेखि मुटु सम्बन्धी रोग भएको आशंकामा तीन वटा औषधी खाँदै गरेकी एक विरामीको औषधिीटुटाउन सफल भएको बताए ।

डा मिश्रले बंगलादेशबाट एमविविएस गर्नुको साथै एमडी कार्डियोलोजीमा पाकिस्तानमा ६ वर्ष तालिम लिएका छन् ।

मुटु रोग विभागकै अर्का मुटुरोग विशेषज्ञ डा अच्युतानन्द लाल कर्णले नेशनल मेडिकल कलेजमै अबदेखि बाईपास सर्जरी समेत सम्भव भएको जानकारी दिए ।

क्याथ ल्याब सञ्चालनका लाथि दुई जना मुटुरोग विशेषज्ञ, एक जना मुटुरोग सर्जन, असिस्टेन्टहरु गरी ११ जनाको टिम रहेको नेशनल मेडिकल कलेजले जनाएको छ ।
चिकित्सकहरुका अनुसार नेशनल मेडिकल कलेजले दुईवर्षदेखि क्याथ ल्याब सञ्चालनका लागि गृहकार्य गरिरहेको थियो ।