कराँतेको क्लोज क्याम्प पोखरामा शुरु

९ जेष्ठ २०७५, बुधबार ०७:२७

जेठ ९, काठमाडौं ।

कराँतेको क्लोज क्याम्प (बन्द प्रशिक्षण) पोखरामा शुरु भएको छ । इण्डोनेसियामा आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म हुने एसियन गेमको तयारी स्वरुप कराँतेको क्लोम्प पोखरामा शुरु भएको हो ।

गत बुधबार पोखरा आइपुगेका २ प्रशिक्षकसहित ९ जनाको टोली बन्द प्रशिक्षणमा छन् । टोलीमा १० जना भए पनि एक जना खेलाडी जापान रहेकाले हाल ७ जना खेलाडी मात्र सहभागी छन् ।

बन्द प्रशिक्षणमा पुरुषतर्फ ५५ केजी तौल समूहका सोनाम लामा, ८४ केजी तौल समूहका दिवस श्रेष्ठ, पुरुष एकल काँतातर्फ पर्शुराम बास्तोला रहेका छन् । पुरुषतर्फको ६७ केजी तौल समूहका नवीन रसाइली भने जापानमा रहेकाले बन्द प्रशिक्षणमा छैनन् ।

जापानमा भइरहेको जुनियर एसियन कराँते च्याम्पियनसीपमा सहभागी भएका कारण उनी केही दिनपछि मात्र बन्द प्रशिक्षणका लागि पोखरा आइपुग्नेछन् ।

महिलातर्फ ५० केजी तौल समूहमा अनु अधिकारी, ६१ केजी तौल समूहमा सुनिता महर्जन, ६८ केजी तौल समूहमा रिता कार्की र एकल काँताकी चञ्चला कार्की बन्द प्रशिक्षणमा छन् ।खेलाडीहरुलाई प्रशिक्षक हिरासिंह डंगोलले काता र दीपक श्रेष्ठले कुमुदी प्रशिक्षण गराइरहेका छन् ।

पोखरामा केही हप्ता प्रशिक्षण गराएर टोली वैदेशिक क्लोज क्याम्पका लागि प्रस्थान गर्ने बताइएको छ । यद्यपि, कुन देशमा जाने र कहिले जाने भन्ने टुंगो नलागेको प्रशिक्षक दीपक श्रेष्ठले बताए ।

उनले खेलाडीहरुलाई स्वदेशमा कम र विदेशमा बढी समय प्रशिक्षणमा राख्नुपर्ने बताए ।अर्का प्रशिक्षक हिरासिंह डंगोल पनि श्रेष्ठको भनाइमा सहमत छन् । खेलाडीलाई जापान वा युरोपियन देश लैजाने भनिए पनि टुंगो नलागेको प्रशिक्षक श्रेष्ठले बताए ।