जेठ ८, काठमाडौं । एजेन्सी
‘वागी २’ सुपरहिट भएपछि बलिउड नायिका दिशा पटानी अहिले धेरै निर्माताको आँखामा परेकी छिन् । यसैले पनि उनलाई ठूला ठूला स्टारहरुसँग काम गर्ने अवसर मिलिरहेको छ ।
चलचित्र ‘भारत’मा नायिका पटानीले बलिउडमा सुपरस्टार नायक सलमान खानसँग काम गर्ने फाइनल भैसकेको छ । दिशालाई सलमानले ट्विटरमार्फत यो प्रोजेक्टमा स्वागत समेत गरिसकेका छन् ।
अब, दिशाले सलमानपछि अर्का सुपरस्टार नायकसँग काम गर्ने फाइनल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
रोहित धवनले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा बलिउडका सुपरस्टार नायक ऋतिक रोशनले काम गर्दैछन् । अब, यो चलचित्रका लागि रोहितले ऋतिकको जोडीको रुपमा दिशालाई फाइनल गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
चलचित्रका निर्माता साजिद नाडियाडवाला यो चलचित्रलाई सन् २०१९ मा रिलिज गर्ने सोचमा छन् ।
