२ सय किलो गाँजा र पेस्तोल बरामद

८ जेष्ठ २०७५, मंगलवार ०७:१५

जेठ ८, काठमाडौं ।

महोत्तरीको एकडारा गाउँपालिका ३ अजमलपट्टीबाट जिल्ला प्रहरी कार्यालय महोत्तरी एकथान पेस्तोलसहित लागुऔषध गाँजा बरामद गरेको छ । एकथान पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित २ सय किलो प्याकिङ गरेर राखिएको लागुऔषध गाँजा बरामद भएको प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।

प्रहरीको विशेष टोलिले एकडारा गाउँपालिका– ३ अजमलपट्टीबाट भित्री बाटो हुँदै भारततर्फ पठाउन प्याकिङ गरेर लुकाइराखेको अवस्थामा हतियार र गाँजा बरामद गरिएको कडायतको भनाइ छ ।

घाँसको भारीभित्र कपडाले बेरेर लुकाइराखेको अटोमेटिक पेस्तोल १ थान, गोली १ थान र मिस फायर ३ राउण्ड, लागुऔषध गाँजा, तौल गर्ने डिजिटल मेशीन १ थान, कमानी तराजु १ थान, दुई सय ग्रामको २ थान ढक र सय ग्रामको १ थान ढक, सामसुङ कम्पनीको मोबाइल १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

हतियार र गाँजा कसको हो भन्ने पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।