गरे स्थानीय बासिन्दाले जिल्ला प्रहरी कार्यालय घेराउ

७ जेष्ठ २०७५, सोमबार ११:३७

जेठ ७, काठमाडौं ।

वीरगञ्ज महानगरपालिका–१७, अलौंका बासिन्दाले सोमबार जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडी मुख्य सडकमा टायर बालेर प्रदर्शन गर्नुको साथै केहिवेर चक्काजाम समेत गरे ।

पर्सागढी–४, हर्दासपुरमा २३ वर्षीय युवती रिंकी देवीले आत्माहत्या गरेको नभइ हत्या गरिएको भन्दै घटनामा संलग्नलाई प्रहरीले कारबाही नगरी छोडेको आरोप लगाउँदै माइती पक्ष अलौंबासीले प्रदर्शन गरेका हुन् ।

 

उनीहरुले बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडी मुख्य सडकमा टायर बालेर प्रदर्शन गर्नुको साथै चक्काजाम समेत गरेका थिए ।

 

घटना विवरण अनुसार पर्सागढी नगरपालिका वडा नं ४ का धुपेन्द्र प्रसाद पटेलको श्रीमति रिंकी गत आइतबार आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।

 

उनले झुण्डिएर आत्महत्या गरेको खबर प्रहरी र युवती पक्षलाई दिइएको थियो । र, रिंकीको शव परीक्षणका लागि आइतबार नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा ल्याइएको थियो ।

रिंकीको तीन महिना र दुई वर्षको छोरी छन् । आमाको मृत्युपछि उनीहरुको विचल्ली भएको छ । प्रहरीले रिंकीको ससुरा प्रेम पटेल र धुपेन्द्रप्रसाद पटेललाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने माग युवती पक्षले राखेका छन् ।

प्रहरीका अनुसार आइतबार मध्यान्नतिर आत्हत्या गरेको खबर आएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । गलाको पासो काटिएको अवस्थामा प्रहरीले शव देखेपछि आवश्यक प्रक्रिया अगाडी बढाएको प्रहरीको भनाइ छ ।

प्रहरी भने हत्या या आत्महत्या हो भन्ने विषयमा निक्यौल गर्न पोष्टमार्टम रिपोर्ट कुरिरहेको छ ।