जेठ ७, काठमाडौं ।
नेपाल समाजवादी कांग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टचारविरुद्ध आन्दोलन बताएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना नै गरेर देशमा भ्रष्टाचार ब्यापक रुपमा बढेको भन्दै त्यसको दवाब स्वरुप आन्दोलन गर्न बताएको हो ।
पार्टीका अध्यक्ष विमलप्रसाद यादवले राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र र हिन्दुराज्यको स्थापना अत्यन्त जरुरी भएकोले आन्दोलनको घोषणा गरिएको पत्रकार सम्मेलनमा बताए ।
अध्यक्ष यादवले सरकार पछिल्लो समयमा आफ्नो मतसँग सहमत नहुनेलाई वार्ता र सहमति भन्दा दमनकारी बाटोमा लागेकाले यो सरकारबाट जनताले अधिकार पाउन नसक्ने बताए । यस्तै पार्टीका महासचिव गोविन्द निरौलाले सरकारले शान्तिपूर्ण आन्दोलन गर्नसमेत रोकेको आरोप लगाए ।
सरकारविरुद्ध कडा तर शान्तिपूर्ण ढंगले आन्दोलन गर्ने उनको भनाई छ । सो पार्टीले बैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा मोदीको विरोधमा ५२ स्थानमा पर्चा वितरण गरेको थियो । त्यो लगत्तै प्रहरीले सो पार्टीको कार्यालयबाट केन्द्रीय सदस्य पार्वती थापासहित अन्यलाई गिरफतार गरेको थियो ।
त्यसयता बन्द रहेको सो पार्टीको कार्यलय पनि आजै पत्रकार सम्मेलन गरेर खोलेको छ । गिरफतार सबै कार्यकर्तालाई ६ दिनपछि रिहा गरेको थियो । सो दिन प्रहरी नेपाल समाजवादी कांग्रेस वानेश्वरस्थित पार्टी कार्यालयमा ताला फोडेर कार्यालयमा भएका सम्पूर्ण कागजपत्र समेत लगेको थियो ।
