वैशाख २४, काठमाडौं ।
विभिन्न मुद्दामा फरार रहेका १३ जना अभियुक्तलाई पर्सा प्रहरीले वैशाख १९ गते एकैदिन पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका २० हरपतगंज बस्ने भोलाप्रसाद यादब, वीरगञ्ज २४ बहुअरी बस्ने खुर्सेद आलम, वीरगञ्ज २० हरपतगंज बस्ने लालमतिदेबि बरैनि, वीरगञ्ज २८ बगही बस्ने सुरेश पंडित, सोही ठाउँ बस्ने केश्वर राउत, वीरगञ्ज २५ सिर्सिया बस्ने जलिल मियाँ, सोही ठाउँ बस्ने रहमान मियाँ, जाकिर मिया, खलिल मियाँ, सलमान मियाँ, वीरगञ्ज २२ मनियारी बस्ने जितेन्द्र राउत अहिर, सोही ठाउँ बस्ने बचिया देबि अहिरनि र वीरगञ्ज १७ अलौ बस्ने जयकिसुन मुखिया बिनलाई पक्राउ गरी प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको थियो ।
त्यसैगरी वैशाख २० गते प्रहरीले गाली बेईज्जती मुद्दामा ६ वर्षदेखि फरार रहेका ६ जना व्यक्तिलाई पक्राउ गरी अदालतमा बुझायो ।
०६८ मंसिर १८ गतेको अदालतको फैसलापछि फरार रहेका वीरगञ्ज महानगरपालिकाका अनिल चौधरी, जवाहीरलाल चौधरी, हिरालाल चौधरी, सुरसतिया देवी, प्रदिप चौरसिया र वरुण वर्णवाललाई प्रहरीले पक्रेको थियो ।
उनीहरुलाई सोही दिन अदालतमा फैसला कार्यान्वयनका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वैशाख २३ गते पर्सा प्रहरीले लुटपाट मुद्धामा झण्डै २३ वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेर अदालतमा बुझायो ।
वीरगञ्ज महानगरपालिका वडा नं २० हरपतगंज बस्ने वर्ष ५२ को रामजी सिंहलाई जिल्ला अदालतमा बुझाएको हो ।
पर्सा जिल्ला अदालतको ०५२ असार ७ गतेको फैसला अनुसार उनी लुटपाट मुद्दामा दोषी ठहर भएका थिए । उनलाई १ हजार ३ सय ७८ जरीवाना फैसला भएको थियो ।
पछिल्लो समय पर्सा प्रहरीले फरार रहेका अभियुक्तहरुको खोजी कार्यलाई तीव्र पारेको छ । सोही क्रममा विभिन्न आपराधिक गतिविधिमा दोषी ठहर भएका वा अभियोग लागेका २१० जना फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यसमा सामान्यदेखि जघन्य अपराधका अभियुक्त समेत रहेको प्रहरीले जनाएको छ ।पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्धाका ५ जना, ज्यान मार्ने उद्योगका ३ जना, लागु औषधका २२ जना, अपहरण तथा शरिर बन्धकका ६ जना, सवारी ज्यानका ८ जना, जर्बजस्तीकरणी उद्योगका २ जना, हात हतियार तथा खरखजनाका २ जना, जर्बजस्ती करणीका १ जना, डाका मुद्धाका ३ जना, चोरीका ८ जना र अन्य -जालसाजी, नागरिकता, गालीगलौज आदी) १५० जना फारार प्रतिवादी पक्राउ गरि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी राजन लिम्बुले बताए ।
अघिल्लो आर्थिक वर्ष ०७३/०७४ मा प्रहरीले जम्मा ४७ जना फरार अभियुक्तलाई मात्रै पक्राउ गरेको थियो ।
पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले अदालतबाट दोषी ठहर भइसकेको व्यक्ति फरार रहँदा कानुनी व्यवस्था माथि नै प्रश्न चिन्ह उठ्ने भएकोले फरार अभियुक्त पक्राउमा जोड दिएको बताए ।
