वैशाख २४, काठमाडौं ।
नेपाली युवा इन्जिनियरहरुले नदी वा खोलाको एक किनारामा बसेर अर्को किनारासम्मको पानी नाप्न मिल्ने अन्तर्राष्ट्रियस्तरको ‘केबल वे’ प्रविधि निर्माण गरेका छन् ।
यसअघि पानी नाप्नको लागि तारको लठ्ठामा टेकेर वारि–पारि गर्नुपर्ने हुँदा निकै असुरक्षित थियो । ‘हामीले बनाएको नयाँ प्रविधिबाट खोलाको एक किनारामा बसेरै सम्पूर्ण नापजाँच गर्न सकिन्छ,’ युवा इन्जिनियर अनुप खनालले भने, ‘डायल गजको माध्यमबाट खोलाको चौडाइ तथा गहिराइ सहीसँग नाप्न सकिने भएकाले काम गर्न सजिलो र एकदमै सुरक्षित पनि छ ।’
सो प्रविधिबाट खोलाको सेडिमेन्टसमेत नाप्न सकिने खनालले बताए ।
‘केबल वे’को नयाँ प्रविधिलाई नमूनाको रुपमा ३३५ मेगावाटको माथिल्लो अरुण, ३० मेगावाटको इखुवा खोला हाड्रोपावर प्रोजेक्टमा प्रयोग गरिएको छ ।
सो प्रविधिको शनिबार बालाजुस्थित यन्त्रशालामा माथिल्लो अरुणका प्रमुख विश्वध्वज जोशी र चिनियाँ परामर्शदात्री संस्थाका टिम लिडर हुले संयुक्त रुपमा उदघाटन गरेका थिए ।
