वैशाख २४, काठमाडौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दन कार्यक्रमको तयारीलाई महानगरले तीव्रता दिएको छ ।
प्रधानमन्त्री काठमाडौं रहँदा आवागमन गरिने सडकको भौतिक अवस्था तथा सरसफाइमा विशेष ध्यान दिइने छ । केही मुख्य सडकहरु पखाल्ने योजना महानगरको छ ।
यस्तै १० भन्दा स्थानमा स्वागतद्वार बनाउने, सडक किनाराका पोलमा झण्डा राख्ने, कार्यक्रमस्थल राष्ट्रिय सभा गृहको मर्मत, सम्भार, रंगरोगन गर्ने काम पनि गरिँदैछ ।
मोदीको भ्रमणका क्रममा महानगरले पूरा गर्नु पर्ने जिम्मेवारीलाई व्यवस्थित गर्न क्षेत्रगत कामको बाँडफाँड गर्दै १८ वटा उपसमिति गठन भएका छन् । ती उपसमितिले सम्पादन गर्नुपर्ने कामका विषयमा महानगरको वैठक कक्षमा छलफल भएको छ ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, कायममुकायम प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला र उपसमितिका संयोजकहरुबीच भएको छलफलमा तयारीका धेरै काम पूरा भएको जानकारी दिइएको छ ।
यो समारोहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरबासीका तर्फबाट नागरिक अभिनन्दन गर्नेछन् ।
भारतका प्रधानमन्त्री मोदी बैशाख २८ गते नेपाल आउँदै छन् ।
