वैशाख २४, काठमाडौं ।
नेपाल टेलिकमले प्रकाशित गरेको पछिल्लो रिपोर्टअनुसार ग्राहक आधार १ करोड ९१ लाख १३ हजार ७ सय ८७ पुगेको बताएको छ । फागुन मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेका छन् । डाटा सेवाका लागि कम्पनीले हाल ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम ५ सय ८३ रुपैयाँ सम्मको मूल्यमा उपलब्ध गराइरहेको जनाएको छ ।
चालु आर्थिक वर्षको फागुन महिनासम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार १८.१४ प्रतिशतले वृद्धि भएको देखिएको छ । कम्पनीले मुलुकमै पहिलोपटक गतवर्षदेखि शुरु गरेको फोरजी सेवालाई देशैभर विस्तार गर्नका लागि आह्वान गरेको टेण्डर हाल मूल्याङ्कनको अन्तिम चरणमा रहेको जनाएको छ ।
टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार दूरसञ्चार सेवाको बजार प्रतिस्पर्धात्मक भइरहेको बर्तमान अवस्थामा कम्पनीले छिटोभन्दा छिटो फोरजी मोबाइल सेवालाई मुलुकभर विस्तार गर्न प्राथमिकताका साथ कार्य गरिरहेको बताइन् ।
फोरजी मोबाइल सेवा कम्पनीको भविष्यसँग गाँसिएको विषय मात्र नभई मुलुककै आधुनिक दूरसञ्चार सेवाको विकासमा महत्वपूर्ण फड्को मार्ने विषयसमेत भएकाले कम्पनीले फोरजी सेवासम्बन्धी कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनले विज्ञप्तिमार्फत जनाएकी हुन् ।
