आगामी दुई बर्षभित्र किसानलाई परिचयपत्र र पेन्सन : खनाल

२३ बैशाख २०७५, आईतवार ११:१५

वैशाख २३, काठमाडौं ।

नेपाल सरकारले आगामी दुई वर्षभित्र किसानलाई परिचयपत्र वितरण गरी पेन्सन दिने व्यवस्था लागू गर्ने भएको बताइएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले किसानको वर्गिकरण गरेर न्यून आय भएका तथा सिमान्तकृत किसानहरुलाई योगदानको आधारमा पेन्सन वितरण गर्ने तयारी गरेको जानकारी दिएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको मार्गचित्र प्रस्तुत गर्दै आईतबार साना किसानलाई राज्यले सहयोग गर्ने बताएका हुन् ।

परम्परागत कृषि पेशामा लागेका तर न्यून आय भएका किसानलाई आगामी दुई वर्ष भित्र नीति नियम तर्जुमा गरी पेन्सन वितरण गर्न मन्त्रालय आजै देखि नै लागिरहेको उनले बताए ।

त्यस्तै शहीद बेपत्ता, द्वन्द्वपीडित परिवार तथा एकल महिलालाई लक्षित गरि कृषि पशुजन्य वस्तुहरुको व्यवसायिक उत्पादनमार्फत आय आर्जनमा वृद्धि गर्न सहुलियत ऋण तथा पुँजीगत अनुदान वितरण गर्ने उनले जानाकारी दिएका हुन् ।