थुनामा रहेका अभियुक्त सांसदको पद निलम्बन नहुने, सेवा सुविधा पनि नपाउने

२३ बैशाख २०७५, आईतवार ०६:३०

वैशाख २३, काठमाडौं ।

अबदेखी थुनामा रहेका अभियुक्त सांसदको पद निलम्बन नहुने र सेवा सुविधा पनि नपाउने बताइएको छ ।

तीनवर्ष वा सो भन्दा बढी कैद हुनसक्ने फौजदारी मुद्दा लागेका सांसदहरुलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको अवस्थामा त्यस्ता सांसदहरु तत्कालै निलम्बन हुने /नहुने भन्ने विषय लामो समयदेखि विवादित बनेको थियो । यो विषयलाई दुई भागमा छुट्याएर भाषामा केही परिमार्जन गरी समितिले सहमति जुटाएको समितिका संयोजक कृष्णभक्त पोखरेलले जानकारी दिए ।

अब पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त सांसदको पद निलम्बन हुने छैन ।

“पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त सांसद् अब निलम्बित हुने छैनन्,” समितिका संयोजक पोखरेलले भने, “निलम्बित शब्द भने नियमावलीमा राखिएको छैन । उनीहरुले पाउने सेवा, सुविधा भने प्रयोग गर्न पाउने छैनन् । तर कैदमा बसेका सांसद स्वतः निलम्बित हुनेछन् ।”

मस्यौदामा ३ वर्ष वा सो भन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्त सांसदहरु निलम्बित नहुने तर उनीहरुले पाउने सेवा सुविधा लगायत सांसदको हैसियतले कुनैपनि अधिकारको प्रयोग गर्न नपाउने व्यवस्था गरिएको बताइएको छ । तर अभियोग प्रमाणित भएर कैदमा बसेका सांसदहरु भने स्वतः निलम्बित हुने व्यवस्था गरिएको बताइएको छ ।