मानव बेचविखन तथा लैंगिक हिंसाका घटना रोक्न पुरुषलाई नै जिम्मेवार बनाउने गरी एक अभियान सुरु

२३ बैशाख २०७५, आईतवार ०५:००

वैशाख २३, काठमाडौं ।

मानव बेचबिखन तथा लैंगिक हिंसाका घटना रोक्न चितवनको पदमपुरमा पुरुषलाई नै जिम्मेवार बनाउने गरी एक अभियान शुरु गरिएको बताइएको छ ।

पुरुषलाई बेचबिखन र हिंसाविरुद्ध अभियानमा सहभागी गराउन सके घटना न्यूनीकरण हुने भन्दै चितवनको कालिका नगरपालिकामा मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध ‘म एक जिम्मेवार पुरुष’ अभियान शुरु गरिएको बताइएको छ ।

मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्धको कार्यक्रमअन्तर्गत पदमपुरको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था र कालिका पुरुष रक्षक समूहद्वारा शनिबार पदमपुरमा आयोजित कार्यक्रममा बोल्दै सहभागीले हिंसा र बेचबिखन रोक्न शुरु भएको अभियानमा ऐक्यबद्धता जनाएको बताएका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रदेश नं ३ का सदस्य घनश्याम दाहालले महिलालाई मनोरञ्जन गर्ने साधनका रुपमा मात्रै हेर्ने गरेको भन्दै पुरुष सच्चिनुपर्नेमा जोड दिएका छन् । मानव बेचबिखन र हिंसाविरुद्ध काम गर्दै आएको संस्था केआई नेपाल, चेली नेपाल तथा कालिका नगरपालिका, इलाका प्रहरी कार्यालय रत्ननगर, नेपाल शिक्षक महासंघ कालिका समिति र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा कार्यक्रम भएको बताइएको छ ।

त्यसैगरी केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले हिंसाविरुद्ध पुरुष जिम्मेवार हुनुपर्छ भनेर यो अभियान थालिएको भन्दै सबैको हातेमालो जरुरी रहेको औंलाएका थिए । बालिका हुने बित्तिकै भ्रूण हत्या गरेर हिंसाको शुरुआत हुने गरेको तीतो यथार्थ पोख्दै भट्टराईले महिला र बालिका जोगाउनुपर्नेमा जोड दिए ।

महिला अधिकारकर्मी संगीता भट्टराईले म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसा भए प्रतिकार गर्छु भनेर सबैले प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिइन् ।