दुनै कोब्राले हात पार्यो ‘दुनै प्रिमियर’ लिग क्रिकेटको उपाधि

१९ बैशाख २०७५, बुधबार ०८:०५

वैशाख १९, काठमाडौं ।

दुनै प्रिमियर लिग क्रिकेटको उपाधि दुनै कोब्राले हात पारेको छ ।

दुनै प्रिमियर लिग क्रिकेटको पाँचौँ संस्करणमा जिल्ला प्रहरीलाई २७ रनले हराउँदै कोब्रा लिगको विजेता बनेको छ । विजेता दुनै कोब्राले नगद रु ३० हजार, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेताले रु १० हजारमात्र पाएको छ ।

करीब १० दिनसम्म चलेको लिगमा चारवटा टिमले सहभागिता जनाएका थिए । फाइनलमा पुगेको नेपाल प्रहरी र दुनै कोब्राको खेलमा टस हारेर कोब्राले पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५५ रन बनाउँदै पहिलो इन्निङ सकिएको हो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल प्रहरीले सात विकेटको क्षतिमा १२८ रन बनाउन सफल भयो । लिगको विजेताको दाबेदार मानिएको नेपाल प्रहरी फाइनलमा भनाई अनुसार खेल प्रदर्शन नगर्दा खेलको उपविजेतामा चित्त बुझाउनु परेको हो ।

फाइनल खेलमा दुनै कोब्राका कप्तान अपार गुरुङले ५४ रनको अर्धशतक खेलेका थिए । त्यसैगरी, प्रिमियर लिगको खेल अवधिभर सर्वाधिक छक्का, सर्वाधिक रन र सर्वाधिक विकेटर पनि कप्तान गुरुङनै भएको आयोजकले जानकारी दिएका छन् । उनले २७२ रन, १५ विकेट र २३ छक्का प्रहार गर्दै उत्कृष्ट खेलाडीमा परेका हुन् ।