नेपालकी सुपरस्टार हुँ, लाइन बसेर बलिउडमा अडिसन दिन्नँ : निरुता

१८ बैशाख २०७५, मंगलवार १०:०१

वैशाख १८, काठमाडौं ।

नायिका निरुता सिंह लामो समयदेखि भारतको मुम्बईमा छिन् । तर, त्यहाँ बसेर उनी बलिउडमा ट्राई मारिरहेकी छैनन् ।

उनले भनिन् – ‘म नेपालमा सुपरस्टार भएर बसेकी नायिका हुँ । सबैले मलाई यति धेरै माया दिनुभएको छ । म त्यहाँ गएर लाइनमा बसेर अडिसन दिन चाहन्न ।’

कतिपय समयमा बलिउडकर्मीले मिटिङको व्यवस्था मिलाएको खण्डमा गएर कुरा गर्ने तर लाइन लागेर अडिसन नदिने उनको भनाई छ । निरुताले अगाडि थपिन् – ‘म मुम्बइमा बस्दा सिंगो नेपाली चलचित्रको प्रतिनिधी हुँ । मैले सानो गल्ती गरे भने पनि त्यसले नेपाली चलचित्रलाई ठूलो असर गर्छ । मैले त्यस्तो कुरामा ख्याल गर्नुपर्छ ।’

निरुता चाँडै नेपाली चलचित्र क्षेत्रमा र्फकन चाहन्छिन् । यसका लागि उनी आफू सुहाउँदो भूमिका खोजिरहेकी छिन् । हालैको नेपाल बसाईमा उनले नाई नभन्नु ल ५ मा छोटो भूमिका गरिन् ।

कस्तो खालको चलचित्र तपाई खोज्दै हुनुहुन्छ भन्ने प्रश्नमा निरुताले भनिन्‘- भारतमा मम, इङ्लिस बिङलिस जस्ता चलचित्र बने नी । हो, त्यस्तै महिला केन्द्रित चलचित्र भयो भने गर्न मन छ ।’

उनी अहिले चलचित्रका लागि कुरा भैरहेको र चाडै नै चलचित्र सुटिङका लागि नेपाल आउने समेत बताउँछिन् । निरुताले आजसम्म बिहे किन नगरेकी हुन् ? निरुताले यो प्रश्नमा हाँस्दै जवाफ दिइन्- ‘खै नभेटेको नै भन्नुपर्ला । कहाँ भेटिएला जस्तै भएको छ ।’