भेडाबाख्रा झैं एकै ठाउँमा कोचिएर पढ्न बाध्य छन् बालबालिकाहरु

१८ बैशाख २०७५, मंगलवार ०७:४०

वैशाख १८, काठमाडौं ।

चितवनको विकट लोथरको कालिटारस्थित राष्ट्रिय आधारभूत विद्यालयका बालबालिका भेडाबाख्रा झैं एकै ठाउँमा कोचिएर पढ्न बाध्य भएका छन् ।

राप्ती नगरपालिका–१३ स्थित उक्त विद्यालयको पुरानो भवनमा बनेको सानो कक्षाकोठामा उनीहरु यसरी एकै ठाउँमा कोचिएर पढ्न बाध्य भएका हुन् । बढीमा १० देखि १५ जनासम्म अट्ने एउटा शिशु कक्षामा ५० जना बालबालिका कोचिएर पढिरहेका छन् । उनीहरुलाई एक सहयोगी कार्यकर्ता मायाँ प्रजाले पठनपाठन गराउँदै आएकी छन् ।

सेक्सन छुट्याउनुपर्ने भए पनि शिक्षक र कोठा अभावले समस्या परेको विद्यालयले जनाएको छ । पुरानो भवनको भुईंमा थोत्रो कार्पेट बिच्छ्याइएको र त्यसमा चार वटा टेबल राखिएको छ । बालबालिका कार्पेटमा कोचिएर बसेका थिए भने एउटै टेबल घेरेर १२ बालबालिका कोचाकोच गरेर पढिरहेका थिए । घुँडा धसेर लहरै बसेका उनीहरुलाई चल्न चटपटाउनसमेत मुस्किल भएको पाइन्छ ।

कोठाको अवस्था हेर्दा अक्सिजनसमेत पाउन मुस्किल झैँ थियो । तैपनि त्यसैमा कोचिएर बस्न बाध्य थिए बालबालिका । उनीहरुका लागि कम्तीमा दुई शिक्षक हुनुपर्नेमा एक सहयोगी कार्यकर्ताले काम चलाइरहेका छन् । स्कुलका प्रधानाध्यापक दीपककुमार श्रेष्ठ कक्षा कोठा र डेस्क बेच्नको अभावका कारण सहज रुपमा पठनपाठन गराउन नसकिएको बताएको पाइन्छ ।

विद्यालयले कक्षा ४ सञ्चालन गर्ने तयारी गरिरहेको छ तर विद्यालयमा कक्षा, कोठा, डेस्क, बेच्नसहित पढाउने शिक्षकको समेत अभाव रहेको देखिन्छ । नियमावलीमा उल्लेख भएअनुसार १२० भन्दा बढी विद्यार्थी भएको स्कूलमा चार शिक्षक आवश्यक हुन्छ तर उक्त स्कूलमा राहतका दुई शिक्षकले मात्र पढाउँदै आएका छन् । २० जनाभन्दा माथि विद्यार्थी भएको शिशु कक्षामा दुई जना सहयोगी कार्यकर्ता राख्नुपर्ने नियमावलीमा भए पनि राख्न नसकिएको पाइन्छ ।