वैशाख १८, काठमाडौं ।
पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको समस्यामा छन् । दुईसय घर एउटा कुवाको भरमा रहेको बताइएको छ ।
खानेपानीको लागि गाउँगाउँमा पुगेर कुवामा पानी खोजेर जीविका चलाउन त्यहाँका बासिन्दाहरु बाध्य रहेका छन् । अहिलेसम्म उनीहरुको गुनासो सुनिदिने कुनै निकाय छैन । नगरपालिकामा खानेपानी समस्याका विषयमा कुरा उठाए पनि अहिलेसम्म यस सम्बन्धमा सुनुवाइ हुन नसकेको उनीहरुको गुनासो रहेको छ ।
“नगरपालिकामा खानेपानीको समस्या समाधानबारे जानकारी गराउँदा सानो रकमले अपुग हुने भन्दै यसको वैकल्पिक व्यवस्थाका लागि केन्द्रबाट बजेट माग गर्ने भनेर आश्वासन दिइएको छ, यहाँका स्थानीयवासी भने खानेपानीले तड्पिरहेका छन् ।”
गाउँमा बिजुलीको सुविधा पुगेको छ, लिफ्टिङ गरेर पानीको व्यवस्था गर्न सकिन्छ तर यस विषयमा जनप्रतिनिधि भने मौन रहेको स्थानीयवासी बताउँछन् । यहाँका स्थानीयवासीले रातिको २ बजे नै उठेर कुवाको पानी खोजेर जीविका चलाउन बाध्य छन् ।
एक गाग्री पानीकै लागि दुईदेखि तीन घण्टाको समय बिताउनुपर्छ । खानेपानीको हाहाकारले घरायसी कामकाजमा निकै समस्या झेल्नु परेको उनीहरुको भनाइ छ । बिहान उज्यालो नहँुदै कुवा वरिपरि पानी खोज्नेको ठूलो ताँती देखिन्छ । पानीको समस्याले एक अर्काबीच गाउँमा छिमेकीबीच झैझडा समेत हुने गरेको बताउँछन् ।
निर्वाचनमा भोट माग्न गाउँगाउँमा पुगेका दलका नेताले भोट देऊ खानेपानी ल्याइदिन्छु भनेर ठूलो आश्वासन दिएका थिए । हरेक वर्ष यहाँका स्थानीयवासीले नेता कार्यकर्तासँग सधैँ खानेपानीको जोहो गर्न माग गरे पनि अहिलेसम्म कहीँकतैबाट राहत पाउन सकिरहेका छैनन् ।
चुनाव आउँदैपिच्छे खानेपानीको एजेण्डा पहिलो प्राथमिकतामा राखेर गाउँगाउँमा पुगेका राजनीतिक दलका नेता कार्यकर्ता विजय हासिल गरेपछि गाउँमा फर्कँदैनन् । अहिले स्थानीय सरकार जनप्रतिनिधिको हातमा छ तर त्यहाँका जनताले भने खानेपानीको केही राहत नपाउँदा आक्रोशित बनेका छन् ।
