७९ एसपीको सरुवा र ७२ इन्सपेक्टरको पदस्थापन, निलम्बित एसपीहरु के भए ?

२४ बैशाख २०७५, सोमबार १०:४८

वैशाख २४, काठमाडौं ।

नेपाल प्रहरीले एकसाथ ठूलो संख्यामा एसपीहरुको सरुवा र इन्सपेक्टरहरुको पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले ७९ प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा र ७२ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको पदस्थापन गरेको हो ।

साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्याकाण्डमा निलम्बनमा परेका एसपीहरु पनि सरुवामा परेका छन् । निलम्बित एसपी विकाशराज खनाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट नवलपरासीको जर्गाहस्थित प्रहरी युक्ति तालिम महाविद्यालयमा सरुवा गरिएको छ । यसैगरी विद्यानन्द माझी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सात नम्बर प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन् ।

मिरा चौधरीलाई धनुषाबाट बारामा र राजकुमार बैदवारलाई बाराबाट महानगरीय प्रहरी शिक्षालय रानीपोखरीमा सरुवा गरिएको छ ।

यसैगरी दीपक थापालाई चितवनबाट सुरक्षा सेवा निर्देशनालय, सहकुलबहादुर थापालाई काभ्रेबाट मानवअधिकार उल्लंघन इकाईमा, शेखर कोइरालालाई सिरहाबाट प्रदेश नम्बर १ विराटनगरमा, यज्ञ विनोद पोखरेललाई रौतहटबाट प्रहरी प्रधानकार्यालयको जनसम्पर्क तथा प्रचार प्रसार शाखामा, सुशील कुमार आचार्यलाई सुर्खेतबाट अपराध अनुसन्धान महशाखामा र अपराध अनुसन्धान महशाखाका जीबन श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा गरिएको छ ।

एसपी अर्जुन चन्द ठकुरीलाई कैलालीबाट प्रहरी प्रधान कार्यालय यूएन जगेडामा राखिएको छ ।

ओमबहादुर रानालाई महानगरीय प्रहरी कार्यालयको विशेष सुरक्षा महाशाखा जिल्ला प्रहरी कार्यालय कास्कीमा र कास्कीका अशोक सिंहलाई महानगरीय प्रहरी कार्यालयको विशेष सुरक्षा महाशाखामा सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान महाशाखाका किरण बज्राचार्यलाई मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बारामा पठाइएको छ ।

गणेश चन्दलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरबाट पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलमा सरुवा गरिएको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका कृष्णहरी शर्मा पोखरेललाई केन्द्रीय अनुसन्धान व्यूरो इन्टेलिजेन्स महाशाखामा तानिएको छ ।