मोदी भोली जनकपुर आउँदै : सहयोग परियोजना घोषणाको तयारी

२७ बैशाख २०७५, बिहीबार ०६:३६

वैशाख २७, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोग परियोजना घोषणा गर्न सक्ने देखिएको छ । उनी भोलि पटनाबाट जनकपुर आउँदै छन् ।

भारतीय वायु सेवाको विमानबाट १०:३० मा आउने मोदीले जनकपुरमा २ घन्टा विताउने कुरा बताइएको छ । उनलाई त्यहाँ रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी सिधै जानकी मन्दिरमा जाने बताइएको छ ।

त्यहाँ नेपाली समकक्षी केपी शर्मा ओलीले मोदीलाई स्वागत गर्ने बताइएको छ । मोदीले मन्दिरमा करिव ६ मिनेट पूजा अर्चना गर्ने र लगत्तै दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ ।

बाह्रविघा मैदानमा नागरिक अभिनन्दनको कार्यक्रम राखिएको बताइएको छ । १२:२५ मा अभिनन्दन कार्यक्रम सकिने र मोदी राजनीतिक भेटवार्ताका लागि काठमाडौं आउने बताइएको छ । प्रधानमन्त्री मोदीको यो भ्रमण छिमेकी पहिलो भन्ने नीतिको कार्यान्वयन भएको वीरगञ्जस्थित भारतका महावाणिज्यदूत बीसी प्रधानले बताए ।

सहयोग परियोजना घोषणा हुनसक्ने

महावाणिज्यदूत प्रधानका अनुसार भारतले रेल, पानी र कृषि क्षेत्रसँग जोड्न चाहेको छ । बिहीबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘केही स्थानमा यही परियोजना घोषणा हुनसक्छ ।’

मोदीको भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भएको भारत भ्रमणका क्रममा भएका सम्झौता र घोषणा कार्यान्वयनबारे छलफल पनि हुने उनले बताए ।