मोदी नेपालको दुईदिने भ्रमणको लगि जनकपुरमा

२८ बैशाख २०७५, शुक्रबार ०५:३२

वैशाख २८, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुईदिने नेपाल भ्रमणका लागि आज जनकपुर आइपुगेका छन् ।

प्रधानमन्त्री मोदी भारतीय वायु सेवाको क्षेत्रीय विमानमार्फत् भर्खरै जनकपुर विमानस्थलमा अवतरण गरेका हुन् । ४ वर्षअघि प्रधानमन्त्रीमा निर्वाचित भएयता मोदीको यो तेस्रो नेपाल भ्रमण हो ।

जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रूपमा स्वागत गर्दैछन् ।

भ्रमण कार्यतालिकाअनुसार प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट सिधै जानकी मन्दिर जाने र मन्दिरमा विशेष पूजाअर्चना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री मोदी प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा बाह्रबिघा मैदानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् ।

जनकपुरमा नागरिक अभिनन्दनपछि प्रधानमन्त्री मोदी दिउँसो काठमाडौंतर्फ प्रस्थान हृुनेछ ।

भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच आजै द्धिपक्षिय सम्बन्ध र आपसी हितका सम्बन्धमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भोलि वैशाख २९ गते बिहानै प्रधानमन्त्री मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङतर्फ प्रस्थान गर्नेछन् । मुक्तिनाथमा पूजापछि उनी बिहान करीब १०:३० बजे मुक्तिनाथबाट काठमाडौं फिर्ता हुनेछन् ।

प्रधानमन्त्री मोदीलाई शनिवार दिउँसो २:४५ बजे काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी उनी भोलि नै स्वदेश फिर्ता हुनेछन् ।