वैशाख १७, काठमाडौं ।
उत्तर कोरीयाली घडीहरु अवदेखि आधा घण्टा छिटो चल्ने भएका छन् ।
गत साता उत्तर कोरियाली शासक किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच भेटवार्ता भएको थियो । त्यसक्रममा दुई देशबीच भएको शिखर वार्ताले पानजुममोन घोषणापत्र पनि जारी गरेको थियो ।
त्यसअघि सुध्रिँदै गएको दुई कोरियाबीचको सम्बन्धमा अब नयाँ आयाम थपिने भएको छ । उत्तर कोरियाले आफ्नो टाइम जोन (समय) दक्षिण कोरियासँग मिलाउँदै छ ।
दुई देशबीच युद्धपछि अलगअलग टाइम जोन थियो । उत्तर कोरियाली समय दक्षिण कोरियाभन्दा ३० मिनेट ढिला थियो । दुई कोरिया विभाजन हुनुअघिको समयलाई उत्तर कोरियाले आधिकारिक बनाएको थियो ।
कोरियन समाचार संस्थाका अनुसार गतसाता जब किम दक्षिण कोरियाको सीमामा आए, त्यतिबेला सीमामै राखिएका दुई देशका घडीले छुट्टाछुट्टै समय देखाइरहेका थिए । त्यो देख्दा दुस्ख लागेको भन्दै किमले दुई देशको समयलाई एक बनाउने संकल्प तत्काल गरेका थिए ।
उत्तर कोरियाली संसदले पनि कोरियाली टाइम जोन मिलाउने सम्बन्धी प्रस्ताव सोमबार पारित गरेको हो ।
अब मे ५ बाट दुवै देशका घडीले एउटै समय देखाउने बताइएको छ । उत्तर कोरियाली घडीहरू अब साबिकभन्दा आधा घण्टा छिटो हुने बताइएको छ ।
