वैशाख १४, काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान ७ बजेदेखि देशभरका १,०५१ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।
सबैभन्दा बढी काठमाडौँमा ११४ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्रमा परीक्षा भइरहेको छ । परीक्षामा देशभरका ३,९१२ विद्यालयका २,०८,२७६ छात्र र २,०६,९७५ छात्रा गरी ४,१५,२५२ परीक्षार्र्थी सहभागी भएका छन् । परीक्षामा सबभन्दा बढी काठमाडौँमा ६१,९२६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्र्थी सहभागी रहेको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो ।
बोर्डका अनुसार परीक्षामा १,०५१ केन्द्राध्यक्ष, १,८८८ सहायक केन्द्राध्यक्ष, २०,८६३ निरीक्षक, १,०६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, २,१२० कार्यालय सहयोगी, १२,७२० सुरक्षाकर्मी गरी कूल ३९,७०२ जनशक्ति परिचालन भएका छन ।
बोर्डका सदस्य सचिव दुर्गा अर्यालले परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताउँदै परीक्षामा मोबाइल फोन लैजान निषेध गरिएको, सूचना आदानप्रदान गर्न परीक्षा कन्ट्रोल रुमको व्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्तःमनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीका लागि परीक्षाको विशेष व्यवस्था गरिएको, कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बताए ।
परीक्षामा अमर्यादित काम गरेको पाइएमा छ महिना कैद र रु एक लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।
