वैशाख १०, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना लेलिन दिवसको अवसरमा मेचीनगर नगरपालिकाको वडा नं. १० मा एमाले र माओवादी वडा कमिटीबीच एकीकरण भएको छ । केन्द्रमा पार्टी एकीकरण गर्न ढिला भएको भन्दै झापा मेचीनगरको एउटा वडामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आइतवार एकीकरण घोषणा गरिएको हो ।
नेकपा एमाले झापा जिल्ला कमिटिका सल्लाहकार सदस्य भीम खवासका अनुसार केन्द्रमा दवाव सिर्जना गर्न वडा तहमा दुबै कमिटी गाभेर नयाँ कमिटी घोषणा भएको वताएका छन । दुबै पार्टीका कार्यकर्ताहरुले संयक्त रुपमा धुलावारी बजारमा र्याली निकाल्नुका साथै कोणसभा र पत्रकार सम्मेलन गरेका हुन् ।
प्रकाश खड्काको संयोजकत्वमा ७७ सदस्यीय कोणसभा नयाँ कमिटी घोषणा गरिएको थियो । उनी एमाले मेचीनगर वडा नं. १० का यसअघि अध्यक्ष थिए ।
त्यसैगरी यसअघिका माओवादी केन्द्र वडा कमिटीका अध्यक्ष दलबहादुर कट्टेलले केन्द्रमा एकीकरण गर्न विप्लव भएकाले स्थानीय कार्यकर्ता र शुभेच्छुकहरुको आग्रहअनुसार वडा तहमा स्वत : स्फुर्त एकिकरण गरिएको बताएका हुन् ।

