मनोज पुनको सुराकीको आरोपमा युवा संघका सदस्य पक्राउ, गोप्य सुचना कसरी दिन्थे ?

६ बैशाख २०७५, बिहीबार ०८:३४

वैशाख ६, काठमाडौं ।

गुण्डा नाइके मनोज पुनको सुराकीको आरोपमा बुटवलका सुजु मल्ल पक्राउ परेका छन् ।मल्ल एमाले भातृ संगठन युवा संघका केन्द्रीय सदस्य हुन् । युवासंघको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं गएका बेला उनलाई पक्राउ गरिएको हो ।


ठेकेदार समेत रहेका मल्ललाई रुपन्देही प्रहरीले बुधबार बेलुका पक्राउ गरेको हो । उनलाई आज भैहवा ल्याइने रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

मनोजलाई कसरी दिन्थे सुराकी ?

मनोज पुनले युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र नेता बसन्त पौडेल बलुको हत्या गरे ।

 

तिवारी हत्याको विरोधमा युवा संघले लगातार आन्दोलन गरेको थियो । आन्दोलनको अग्रपङ्तीमा मल्ल पनि हुन्थे ।

 

आन्दोलनमा उत्रिएर चर्का भाषण गर्ने उनी आन्दोलन टुंग्याउनका लागि दल र प्रहरी प्रशासनसँग हुने बैठकहरुमा पनि सहभागी हुन्थे ।

 

तर, बैठकमा आएका गोप्य सूचनाहरु मल्लले नै मनोज पुनलाई दिने गरेको प्रमाण फेला परेको रुपन्देही प्रहरी प्रमुख ज्ञवालीले बताए ।

 

उनीहरूमाथि संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।