वैशाख ५, काठमाडौं ।
नेपाल–भारत संयुक्त सर्वे टिमले बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा रहेको मुख्य सीमा स्तम्भ पुनर्निर्माण शुरु गरेको छ ।

नेपाल–भारत सीमा स्तम्भ पुर्वेक्षण, सर्वेक्षण्म, मर्मत सम्भार, नयाँ सीमा स्तम्भ निर्माण तथा पुनर्निर्माणको जिम्मेवारी पाएको प्राविधिकसहितको संयुक्त टोलीले यहाँको डोकेबजारमा रहेको मुख्य सीमा स्तम्भ (७५३) नयाँ निर्माण शुरु गरिएको संयुक्त सर्वे टोलीमा रहनुभएका नापी सर्वेक्षक पूर्णबहादुर खड्काले जानकारी दिए ।
‘यसअघि पनि सोही सीमा स्तम्भ नजिकै रहेको सहायक स्तम्भ ७५२÷२ को निर्माण भइसक्यो”, नापी सर्वेक्षक खड्काले भने ‘आजदेखि मुख्य सीमास्तम्भ भत्किने अवस्थामा रहेकाले नयाँ बनाउन थालिएको छ ।’
गत मंसिरदेखि दुवै देशका प्राविधिकसहित सात/सात जनाको सर्वे टोलीले कञ्चनपुर÷कैलालीमा पर्ने नेपाल–भारतको सीमा क्षेत्रमा खटिएको जानकारी दिए ।
‘कञ्चनपुरको ब्रह्मदेवसम्मकै नेपाल–भारत सीमा पुर्वेक्षणसमेत गरेर यहाँका मुख्यमन्त्रीसहितका उच्च अधिकारीसित छलफल गरिसकेका छौं’ , उनले भने, ‘कैलालीमा पनि केही सीमा स्तम्भ मर्मत र नयाँ निर्माण गर्ने काम चलिरहेको छ ।’
नेपाल–भारत दुवै देशको सहमतिमा यहाँका सीमा स्तम्भ निर्माण, पुनर्निर्माण थालिएको हो । नेपाली प्राविधिकको नेतृत्व क्याम्प अफिसर सुदर्शन धामीले गर्नुभएको छ भने भारतीय टोलीको नेतृत्व क्याम्प अफिसर आरबी भट्टले गरेका छन् ।
डोकेबजारदेखि क्रमशः जीर्ण अवस्थामा रहेका सीमा स्तम्भहरु पुनर्निर्माण गर्दै लैजाने बताइएको छ । सर्वेक्षेण तथा सीमास्तम्भ मर्मत, निर्माणका क्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुरक्षासमेत दिइरहेको छ ।
