सांसदलाई मुद्दा लागे स्वतः निलम्बित हुने

४ बैशाख २०७५, मंगलवार ०७:५२

बैशाख ४, काठमाडौं ।

फौजदारी अभियोगमा कुनै पनि सांसदलाई मुद्दा लागेमा स्वतः निलम्बन हुने व्यवस्था गर्ने तयारी गरिएको छ । यस्तै कुनै सांसद पदमुक्त भएमा उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गराएर संसद पदपूर्ति गर्ने व्यवस्था समेत गर्ने तयारी छ ।

यसअघि नैतिक पतन देखिने मुद्दाको हकमा मात्रै स्वतः निलम्बन हुने व्यवस्था थियो भने संसद पदपूर्ति हुने व्यवस्था थिएन ।

हाल प्रतिनिधिसभा नियमावली मस्यौदा निर्माणको काम जारी छ । समितिका संयोजक कृष्णभक्त पोखरेलले नयाँ व्यवस्थासहित नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

 

‘फौजदारी अभियोगमा कुनै पनि सांसदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा स्वतः पदमुक्त हुने व्यवस्था गर्न लागेका छौं,’ रिपोर्टस क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा पोखरेलले भने ।

 

विगतमा मुद्दा लागिसकेर जेलमै रहे पनि सांसद पद रहिरहने व्यवस्था भएपनि अबका दिनमा मुद्दा सम्बन्धमा अन्तिम फैसला नभएसम्म निलम्बन हुने व्यवस्था गर्न लागिएको उनले बताए ।

 

खासगरी माओवादीका धेरै नेताहरुलाई जनयुद्धकालका थुप्रै फौजदारी मुद्दा लागेका छन् । अबदेखि त्यस्ता मुद्दा लागेमा सांसद पद निलम्बन हुने छ । तर, अदालतले निर्दोष ठहर गरेमा भने निलम्बन फुकुवा हुनेछ ।

 

संयोजक पोखरेलका अनुसार कुनै सांसद पदमुक्त भएको खण्डमा उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गराएर पदपूर्ति गर्ने व्यवस्था पनि नियमावलीले गर्ने जानकारी दिए ।