वैशाख ३, काठमाडौं ।
सिरियाबाट फौजहरू फिर्ता नगर्न अमेरी राष्ट्रपति डोनल्ड ट्रम्पले सहमति जनाएका छन् । फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रोँले आफूले राष्ट्रपति ट्रम्पलाई सिरियाबाट फौजहरू फिर्ता नगर्न मञ्जूर गराएको बताएका हुन् ।
यसै महिनाको शुरुमा राष्ट्रपति ट्रम्पले त्यहाँ अहिले परिचालित झण्डै दुई हजार फौजहरू फिर्ता बोलाउने बताएका थिए ।
तर, फ्रान्सका पत्रकारहरूसँग कुरा गर्दै माक्रोँले शनिवार हवाई हमला शुरु गर्नुअघि आफूले ट्रम्पसँग कुराकानी गरेको र दीर्घकालसम्मका लागि उक्त द्वन्द्वमा जोडिरहन सहमत गराएको बताए ।
माक्रोँले संयुक्त राज्य अमेरिका, फ्रान्स र ब्रिटेनले गरेको हवाई हमलाहरू वैधानिक भएको पनि उल्लेख गरेका छन् ।
उनले सिरियाले रासायनिक अस्त्र प्रयोग गरेको भन्ने आरोपबारे रुसले अड्को थप्दा कूटनीतिक ढंगले त्यस्ता हमला रोक्ने अन्तर्राष्ट्रिय समुदायको क्षमता कमजोर भएको पनि बताए ।
