चैत २९, काठमाडौं ।
कैलालीको पहलमानपुरमा प्रदेश ७ कै सबैभन्दा ठूलो चिस्यान भण्डार बन्ने भएको छ ।
प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बुधबार भण्डारको शिलान्यास गरे ।
३ हजार मेट्रिक टन भण्डारण गर्न सक्ने क्षमता रहेको चिस्यान केन्द्रको अनुमानित लागत ११ करोड ७६ लाख १९ हजार सात सय रुपैयाँ रहेको निर्माणकर्ता कम्पनीले जानकारी दिए ।
सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन प्रालिले निर्माण गर्न लागेको सो चिस्यान भण्डार निर्माणका लागि रिज्मको २ करोड ९९ लाख ८९ हजार रुपैयाँ अनुदान रहेको कम्पनीका अध्यक्ष रामबहादुर रावतले बताए ।
यस प्रदेशमा हाल दुई हजार मेट्रिक टन क्षमताको सुसन्दीप कोल्ड स्टोर र डडेल्धुरामा एक हजार मेट्रिक टनको उग्रतारा शीत भण्डार सञ्चालनमा छन् ।
सिलन्यास कार्यक्रममा मन्त्री बोहराले निजी क्षेत्रबाट निर्माण तथा सञ्चालन हुने चिस्यान भण्डारले प्रदेश सरकारको कृषिमा आत्मनिर्भर र प्रदेश समृद्धिको यात्रामा महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।
