चैत २९, काठमाडौं ।
धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुमध्ये दुई जना मोरङका र एक/एक जना सुनसरी र झापाका रहेका छन् ।
प्रहरीले मोरङका दुई जनालाई घटना भएकै दिन आइतबार र अरु दुई जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।
मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले घटनामा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धानको क्रममा रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए ।
‘घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ ‘सत्यतथ्य पत्ता लागेपछि हामी सार्वजनिक गर्छौं’ उनले भने ।
प्रहरीले घटना भएको दिन विराटनगरबाट दुई जनालाई पक्राउ गरेको थियो । थप दुई जनालाई भने बु्धबार साँझ पक्राउ गरेको हो ।
विराटनगर-१४ जतुवास्थित रामजानकी मन्दिरमा बास बसेका आचार्यलाई गत आइतबार बिहान २ बजेतिर शौचालय जाने क्रममा गोली प्रहार भएको थियो ।
दाहिने कुममा गोली लागेका स्वामीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।