‘शत्रु गते’को जापानमा नयाँ रेकर्ड

२८ चैत्र २०७४, बुधबार ०१:३५

चैत २८, काठमाडौं ।

चलचित्र ‘शत्रु गते’ले जापानको पहिलो शो हाउसफुलको साथ बम्पर ओपनिङ्ग गरेको छ ।

ए-वान इन्टरटेन्मेन्टको व्यवस्थापनमा आइतबार टोकियोको नाकानो जिरो हलमा सम्पन्न चलचित्रको रेड कार्पेट प्रिमियर शोमा दर्शकहरुको उत्साहजनक उपस्थिती रह्यो ।

बालबच्चादेखि बुढापाकासम्मका दर्शकहरुले भरिभराउ हल समय बित्दै जाँदा झनझन् साँघुरो बन्दै गयो ।

उता आयोजकलाई दर्शकहरुको भिड सह्माल्न धौंधौं, यता दर्शकहरु सिट रोक्नलाई दौडधुप । झट्ट हेर्दा, नेपालकै सिनेमा घरमा चलचित्र हेर्न आएजस्तै आभाष धेरै दर्शकहरुले गरे ।

चलचित्र हेर्न आएका दर्शकहरु हलको क्षमताभन्दा धेरै भएपछि कोहि फर्किन बाध्य भए त कोहि भुईंमै बसेर पनि चलचित्र हेर्न हौसिए ।

‘शत्रु गते’ले जापानको इतिहासमै हाउसफुलको साथ चलचित्र प्रदर्शनको नयाँ रेकर्ड समेत बनाएको छ ।

‘चलचित्रको कथावस्तु राम्रो भएर मात्र नहुने रहेछ, चलचित्र चल्न कलाकारको उपस्थिती पनि महत्वपूर्ण रहेछ’ हाउसफुलको साथ चलचित्रले राम्रो व्यापार गरेपछि खुशी देखिएका ए-वान इन्टरटेन्मेन्टका अध्यक्ष जोन छन्त्यालले भने, ‘हाम्रो पहिलो प्रस्तुती नै सफल भएको छ, राम्रो चलचित्र हेर्न जापानबासी नेपालीहरु पनि हलसम्म पुग्ने रहेछन् भन्ने पुष्टि हो आजको उपस्थिती ।’

चलचित्र हेरिसकेपछि दर्शकहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए । दर्शकहरुले दिपकराज गिरी र हरिवंश आचार्यको अभिनयलाई रुचाए ।

प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ ।

चलचित्र टोकियोपछि नागोया, फुकुओका, सिजुओका, गुन्मा, तोचिगी, ओकिनावालगायत शहरहरुमा पनि प्रदर्शन गरिने आयोजकले बताएको छ ।