चैत २६, काठमाडौं ।
नेकपा का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एमाले र माओवादीबीच पार्टी एकतामा निर्वाचन चिह्न र संख्याले कुनै समस्या नगर्ने बताएका छन् ।
तनहुँको वन्दीपुरमा कुरा गर्दै नेता श्रेष्ठले निर्वाचन चिह्नका बिषयमा धेरै चिन्ता लिनु नपर्ने बताए ।
माओवादी केन्द्रले निर्वाचन चिह्न र पचास प्रतिशतको विषयमा उठाएको विषयमा सोधिएको जिज्ञासामा नेता श्रेष्ठले भने, ‘चुनाव चिह्नमा चिन्ता लिनुपर्ने कुरा केही छैन, हामी समाधान गरिहाल्छौं, पार्टी एकता सम्मानजनक ढंगबाट हुन्छ ।’
उनले अघि भने, ‘सम्मानजनक एकतामा संख्या नै प्रमुख हुन्छ, तर कसरी अघि जाने भन्नेबारेमा छलफल गर्न बाँकी नै रहेको छ ।’
नेता श्रेष्ठले पार्टी एकता आगामी बैशाख ९ गते नै गर्ने गरी तयारी भएको दावी गरे । यसको औपचारीक निर्णय प्रधानमन्त्री भारतबाट फर्किएपछि बैठक बसी गरिने जानकारी नेता श्रेष्ठले दिए ।
दुवै पार्टीले त्यसका लागि आन्तरिक तयारी गरिरहेको नेता श्रेष्ठको भनाइ छ ।
