मुम्बईविरुद्ध चेन्नईको रोमाञ्चक जित : “आईपीएल”

२५ चैत्र २०७४, आईतवार १०:०२

चैत २५, काठमाडौं ।

इन्डियन पिमियर लीग (आईपीएल)को ११ औं संस्करणमा चेन्नई सुपरकिंग्सले साविक विजेता मुम्बई इन्डियन्सलाई हराएको छ ।

मुम्बईको वानखेडे मैदानमा चेन्नईले १ बल बाँकी छँदा १ विकेटको रोमान्चक जित हासिल गर्‍यो । चेन्नईको जितमा ड्वेन ब्राभो नायक बने । ब्राभोले विष्फोटक व्याटिङ गर्दै ३० बलमा ६८ रन योगदान गरे ।

मुम्बई इन्डियन्सले चेन्नईलाई १६६ रनको लक्ष्य दिएको थियो । तर, चेन्नईको सुरुआत खराब रह्यो ।

सुरुआती ५० रन बनाउँदा नै चेन्नईले चार विकेट गुमाइसकेको थियो । पवेलियन फर्किनेहरुमा कप्तान महेन्द्र सिंह धोनी, सुरेश रैना जस्ता महत्वपूर्ण व्याट्सम्यानहरु थिए ।

त्यसपछि पनि चेन्नईको विकेट निरन्तर झरिरह्यो । १७ औं ओवरसम्म चेन्नईले लगभग आफ्नो पकड गुमाइसकेको थियो । चेन्नईले जित्ने आश सबैले मारिसकेका थिए । उता मुम्बईका खेलाडी र समर्थकहरु आफूहरुको जित हुनेमा विश्वस्त देखिन्थे ।

तर मुम्बईको जित र चेन्नईको हारको बीचमा ब्राभो खडा भए । उनले १८ औं र १९ औं ओभरमा मैदानको चौरतिर यस्ता ह्वाइट शट खेलेकि अचानक खेलको माहोल बदलियो ।

१७ औं ओभरसम्म ११८ रनको स्कोरमा ८ विकेट गुमाइसकेको चेन्नईले १९ औं ओभरसम्म आइपुग्दा १५९ रन बनाउन सफल भयो ।

अब चेन्नईलाई ७ बलमा ७ रन आवश्यक थियो । त्यही बेला ब्राभो ह्वाइट शट खेल्ने क्रममा क्याच आउट भए । ब्राभोले आफ्नो पारीमा तीन चौका र सात छक्का प्रहार गरे ।

यसपछि रिटायर्ड हर्ट भएर पेवेलियनमा बसेका केदार जाधव मैदान छिरे र अन्तिम ओभरको चौथो बलमा छक्का र फेरि पाँचौ बलमा चौका हाने । केदारले नै १ विकेटको जित चेन्नईको पोल्टामा हालिदिए ।

उनले २२ बलमा २४ रनको महत्वपूर्ण पारी खेले । मुम्बईको तर्फबाट हार्दिक पाण्ड्या र मयंक मरकन्डेले तीन-तीन विकेट लिए ।