शाैच गर्न निस्किएका बेला हिन्दु धर्म गुरुमाथि गोली प्रहार

२५ चैत्र २०७४, आईतवार ०८:२३

चैत २५, काठमाडौं ।

विरानगरको जतुवामा बस्दै आएका आचार्य श्रीनिवासलाई अज्ञात समूहले गोली हानेर घाइते बनाएको छ । आइतबार बिहान २ बजेतिर शाैच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको हो ।

प्रहरी उपरीक्षक अरुण बिसीले आचार्य श्रीनिवास अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएको पुष्टि गरे । बीसीका अनुसार, गोली दायाँ छातीको कुम मुनिबाट पार भएको छ ।

उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

गोली कसले प्रहार गर्यो भन्ने खुलेको छैन । प्रहरी उपरीक्षक बिसीका अनुसार, गोली प्रहार गर्नेको खोजी भइरहेको छ ।

जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो ।

उनी हिन्दु धर्म गुरु हुन् । केही दिनअघि पूर्वराजा विराटनगर आएका बेला आचार्य श्रीनिवाससँग भेटघाट गरेका थिए ।