काम पूरा नहुँदै सडकको कालोपत्रे उप्कियो, सडकको गुणस्तरीयता माथि प्रश्न उठे

२३ चैत्र २०७४, शुक्रबार १०:२४

चैत २३, काठमाडौं ।

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीदेखि पुरानो सदरमुकाम रामेछाप बजारसम्म जोड्ने सडकको काम पूरा नहुँदै कालोपत्रे उक्किएको छ ।

कामनै सम्पन्न नभइ सडकको कालोपत्रे उक्किएपछि सडकको गुणस्तरीयता माथि प्रश्न उठेको छ ।

मन्थलीदेखि रामेछापसम्मको १७ किलोमिटर लामो सडकको कालोपत्रेको काम सन् २०१७ को फेब्रुअरी महिनासम्म पूरा गर्ने गरी बज्रगुरु कन्सट्रक्सन प्रालिले जिम्मा लिएको थियो ।

एक वर्ष ढिलो गरी हालै काम पूरा भएको सो सडक १४ करोड ६५ लाख रुपैयाँमा निर्माणकार्य पूरा गर्नेगरी सो कम्पनीले काम जिम्मा लिएको हो । सडकको नाली बनाउने तथा पाइप राख्ने, कालोपत्रे गर्ने र अन्य काम पूरा भएको छ ।

सडकको काम पूरा गरिसकेको निर्माण कम्पनीले गरेको काम गुणस्तरीय नभएको स्थानीय उपभोक्ताले सुरु देखिनै गुनासो गर्दै आएका थिए ।

सडक निर्माणको क्रममा लगाइएको पर्खाल तथा नालीमा सिमेन्टको मात्रा कम प्रयोग भएको तथा पर्याप्त पानी नहाल्दा पर्खाल र नाला कमजोर भएको भन्दै स्थानीयले पहिलादेखि नै गुनासो गर्दै आएकोमा अहिले पिचको काम सकिनासाथ कालोपत्रे उक्किएपछि काम गुणस्तरीय नभएको प्रमाणित भएको छ ।