प्राकृतिक चिकित्सालयको भवन ६ करोडको लगानीमा निर्माण, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले कार्यक्रमको उद्घाटन गर्ने

२३ चैत्र २०७४, शुक्रबार १०:१३

चैत २३, काठमाडौं ।

६ करोडको लगानीमा सामुदायिक प्राकृतिक चिकित्सालय रहजरको विरामी आवास भवन निर्माण गरिएको छ ।

संस्थाको साधारणसभाको अवसर पारेर भवनको शनिवार प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले उद्घाटन गर्ने कार्यक्रम रहेको व्यवस्थापक हरि सापकोटाले जानकारी दिए ।

भवन निर्माणमा सरकारले ५ करोड ६१ लाख सहयोग गरेको छ भने बाँकी रकम चिकित्सालय आफैंले जुटाएको हो । भवनमा ७२ वटा कोठा छन् ।

चिकित्सालयमा हाल ८० जना बिरामीहरुले आवासीय सुविधासहित उपचार गराउँदै आएका छन् । यो भवन निर्माणसँगै आवासीय क्षमता १५० पुगेको चिकित्सालयका सचिव प्रदीपराज घिमिरेले जानकारी दिए । आवासीय भवन १५० जनाको पुगे पनि उपचार भवन ८० जनाको मात्रै हुँदा समस्या हुने देखिएको घिमिरेले बताए ।

‘अब हामीलाई तत्कालै बिरामी उपचार भवन चाहिने अवस्था छ, नेपाल सरकार र भारतीय दूतावाससँग कुरा भएको छ, सहयोग मिल्छ भन्ने आशामा छौं’,सचिव घिमिरले भने ।

पछिल्ला वर्षहरुमा बिरामीको चाप निकै बढ्दै गएको व्यवस्थापक सापकोटाले जानकारी दिए । चिकित्सालयले यसै वर्ष आधुनिक उपचार उपकरण पनि भित्र्याएको छ ।

कोलन हाइड्रोथेरापी, सर्कलुर जेट बाथलगायतका अन्य उपचार उपकरण थपिएको प्रवन्ध निर्देशक डा. विनोद पौडेलले बताए । आगामी वर्ष थप १५० बेड क्षमता थप गर्ने गरी काम अघि बढाइएको जानकारी डा. पौडेलले दिए । चिकित्सालयले प्रति बिरामी प्रति दिन उपचार, खाना र आवाससहित ७५० रुपैयाँ लिदै आएको छ ।

डा. पौडेलले चिकित्सालयले १० वर्षभित्र ३ सय शैय्या सञ्चालन गर्ने लक्ष्य लिए पनि त्यो ७ बर्षमा नै पूरा हुने बताए ।