चैत २३, काठमाडौं ।
भूकम्पले ध्वस्त बनाएको महत्वपूर्ण पुरातात्विक एवम् ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण आगामी जेठ १५ गतेबाट सुरु हुने भएको छ ।
संस्कृति तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले विवादहरु मिलाएर छिटो काष्ठमण्डपको पुननिर्माण थाल्न निर्देशन दिएपछि महानगरपालिकाले २०७५ को जेठ १५ बाट निर्माणको औपचारिक शुभारम्भ गर्ने तय गरेको हो ।
तर, पुननिर्माणका सम्बन्धमा उब्जिएको विवाद अझै मिलिसकेको छैन । काठमाडौं महानगरपालिकाले नागरिक स्तरबाटै काष्ठमण्डप बनाउन गठित काष्ठमण्डप पुनर्निर्माण अभियानलाई कुनै भूमिका नदिने भनेपछि विवाद चुलिएको छ ।
तर, अब जेठ १५ सम्म काष्ठमण्डको नक्साससहितको प्राविधिक पाटो र सबै विवाद मिलाइसकिने महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बताए ।
‘स्थानीय वडाध्यक्ष, सांसद ज्युहरुले नै यसको निर्माणका सम्बन्धमा रहेको विवाद मिलाउन अग्रसरता लिनुहुनेछ । जेठको दोस्रो हप्ताबाट सबै विषय टुंग्याएर हामी निर्माणमा गइसक्छाैं,’ आचार्यले भने ।
अहिलेसम्म महानगरपालिकाले यसको निर्माण मोडालिटी टुंग्याएको छैन । स्थानीय संघसंस्थालाई दिने कि आफैंले कुनै आयोजना बनाएर निर्माण गर्ने भन्ने टुंगिन बाँकी छ ।
स्थानीयले भने आफूहरुलाई नै काष्ठमण्डप पुनर्निर्माणको जिम्मा दिनुपर्ने माग गर्दै आएका छन् । उनीहरुकै दबावका कारण महानगर टेण्डर गरेर ठेकेकदारमार्फत यसलाई नबनाउने निश्कर्षमा पुगिसकेको छ ।
यसलाई फेरि बनाउन लागि १८ हजार क्युफिट काठ लाग्नेछ । काष्ठमण्डपमा प्रयोग गर्ने काठ सबै सरकारले नै उपलब्ध गराउने छ । यसअनुसार महानगरपालिकाले टिम्बर कर्पोरेशन अफ नेपाल (टिसीएन)सँग काष्ठमण्डका लागि काठ किन्ने छ ।
काष्ठमण्डपमा कु-काठ मानिने सिसौ, चिलाउने लगायतका रुखका काठ प्रयोग नगर्ने योजना छ । बलियो हुने भएकाले सखुवा अर्थात सालकै काठ प्रयोग गर्न अनिवार्य गर्ने तयारी छ ।
काष्ठमण्डप एउटै रुखबाट निकालिएको काठबाट बनेको हो भन्ने प्राचिन किंबदन्ती छ । तर, पुरातत्व विभागले एउटै रुखबाट काठ निकालेर यसको पुनर्निर्माण गर्न महानगरपालिकालाई भनेको छैन । यो अहिले सम्भवन पनि नदेखिएको पुरातत्व विभागका अधिकारी बताउँछन् ।
काष्ठमण्डपको पुनर्निर्माणमा निकै ठूला आकारका काठहरु प्रयोग हुन्छ । तर, काष्ठमण्डपमा ठूला बुट्टा र जटिल किसिमका काष्ठकलाकृतिहरु नभएकाले बनाउन ठूलो मेहेनत भने नपर्ने उनीहरुको भनाइ छ ।
काष्ठमण्डपको पुनर्निर्माण डिजाइनमा पहिलेभन्दा कुनै किसिमको फेरबदल नगरिने विभागले जनाएको छ । पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्दा त्यसमा कुनै परिवर्तन गर्न नपाइने युनेस्कोको अन्तर्राष्ट्रिय मापदण्ड नै छ ।
पर्यटकीय महत्वको सम्पदा समेत मानिने काष्ठमण्डप बनाउन लाग्ने झण्डै २० करोड अनुमान गरिएको छ ।
