चैत २१, काठमाडौं ।
पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई आजदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ ।
कोषले आज आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन गर्न सिकाउन सुझाव दिए । उनले भने, “माग्ने, चोर्नेकाम विकसित देशमा पनि हुन्छ, यो घोषणा महत्वकांक्षी जस्तो लागेपनि सबैको सहयोगमा कार्यान्वयन गर्न सकिन्छ, यसमा सरकारले पूर्ण सहयोग गर्ने छ ।”
कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक पर्यटक भित्रयाउने नेपालको प्रमुख तीर्थस्थल बनेको पशुपतिमा जाऔँ, आऔँ लाग्ने संरचना निर्माण गर्नुपर्छ भनेका छन् ।
कोषका सदस्यसचिव डा प्रदीप ढकालले धार्मिकस्थललाई मानवीय संवेदनाप्रति ‘ब्ल्याक मेलिङ’ गरेर पेशाका रुपमा माग्नेको संख्या धेरै रहेको सुनाए ।
अध्ययनका क्रममा १८२ जना पशुपतिको मूल मन्दिरको परिषरमा माग्नेको तथ्यांक निक्लिएको छ, जसमा छ महिला मानसिक बिरामी भेटिएको कोषले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महांकाल मन्दिर परिषरमा पनि माग्नेको संख्या उल्लेख्य रहेको बताए ।
मानवसेवा आश्रमको सहकार्यमा पशुपति क्षेत्रका मगन्तेलाई पुनःस्थापना गरिने सो अवसरमा जानकारी गराइयो ।
हालसम्म ८० मगन्ते आश्रमको गोँगबु र बूढानीलकण्ठ आश्रममा पुनःस्थापना भइसकेको जनाइएको छ ।
