नेपालमा एसियाकै पहिलो अपांगतामैत्री पदमार्ग सञ्चालन

१८ चैत्र २०७४, आईतवार ०८:५५

चैत १८, काठमाडौं ।

नेपालको कास्की जिल्लामा एसियाकै पहिलो अपांगतामैत्री पदमार्ग सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकास्थित देउराली नौडाडामा १.३ किलोमिटर लामो पदमार्ग शनिबारदेखि सञ्चालनमा आएको हो ।

पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमशृंखलाको अवलोकन र फेवातालको मनोरम दृश्यको मजा लिन सकिन्छ ।

पदमार्गमा हृविल चेयर प्रयोगकर्ता, वृद्ध नागरिक, कृत्रिम हात खुट्टा भएका जस्ता पदयात्रीले यात्रा गर्न सक्छन् । पदमार्ग सञ्चालनमा आएपछि अपांगता भएका व्यक्तिले पद मार्गमा पुगेरै खुसी साटेका छन् ।

पदमार्गको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले शनिबार उदघाटन गरे । कास्कीकोटदेखि अन्नपूर्ण गाउँपालिकाको नौडाँडा पुग्ने अपांगतामैत्री पदमार्गले नेपालको पर्यटनमा एक नयाँ आयाम थपेको मन्त्री अधिकारीले बताए ।

पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन र नेपालकै एक नमूना पदमार्गको रुपमा विकास गर्न आफुहरु लाग्ने मन्त्री अधिकारीको भनाइ थियो ।पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले एसियामै पहिलोपटक सञ्चालनमा आएको अपांगतामैत्री पदमार्ग नेपाली पर्यटनको एउटा उपलब्धी भएको बताए ।

पदमार्गको शुभारम्भ ऐतिहासिक भएको बताउँदै जोशीले यस्ता गतिविधिले आवश्यक्ता, चेतनाको विकाससँगै पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपालजस्तो भौगोलिक विकटता भएको देशमा पहँुचयुक्त पदयात्रामार्ग सञ्चालनमा आएसँगै सुखद सन्देश गएको उनको भनाइ थियो ।

मोटर गाडी चलाउन नपाइने यो मार्ग अपांगता भएका व्यक्ति र साइकल चलाउनेका लागि लक्षित हो । यो मार्ग साढे १ किलोमिटर तयार भइसकेको छ । दायाँबायाँ बार बन्देज लगाई ३ किलोमिटर मार्ग तयार हुँदैछ ।

पर्यटन बोर्ड र पोखरा लेखनाथ महानगरपालिकासमेतले मार्ग निर्माणमा खर्च गरेका छन् । अन्नपूर्ण गाउँपालिकाले पनि आउँदो वर्ष पदमार्गमा लगानी गर्ने जानकारी दिएको छ ।

कामका हिसाबले यो सानो प्रयास भए पनि यसले पार्ने प्रभाव र दिने सन्देश ठूलो भएको नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले बताए ।