चैत १८, काठमाडौं ।
पार्टी एकतापछि केन्द्रमा जस्तै तल्ला कमिटीहरुमा पनि दुई अध्यक्ष राख्ने माओवादी केन्द्रको प्रस्ताव एमालेले अस्वीकार गरेको छ ।
सबै कमिटीमा दुई अध्यक्ष राख्दा दुई पार्टीको अभ्यास हुने भन्दै एमालेले प्रदेशमा संयोजक र सहसंयोजक तथा अन्य कमिटीमा अध्यक्ष र सचिव राख्ने प्रस्ताव गरेको हो ।
केन्द्रीय कमिटीमा एमाले र माओवादीको बाँडफाँट नमिलेका कारण अन्य कमिटीहरु कसरी समायोजन गर्ने प्रस्ताव तयार पार्न नसकेको कार्यदल सदस्य एवम् एमाले नेता बेदुराम भुसालले बताए । ‘उहाँहरुले केन्द्रीय कमिटीको संख्या तोक्ने बाहेक अरु छलफल गर्न चाहनु भएन,’ उनले भने ।
माओवादी नेता जनार्दन शर्माले भने केन्द्रदेखि तल्लो तहसम्म समानताको सिद्धान्तअनुसार एकीकरण गर्नुपर्ने भएकाले पार्टी एकता संयोजन समितिमा छलफल आवश्यक रहेको बताए । केन्द्रदेखि तलैसम्म प्रतिशतका आधारमा समायोजन हुन नसक्ने उनको तर्क छ ।
एमाले नेता भुसालले भने संख्यामा समानताको सिद्धान्त लागु नहुने दावी गरे । ‘समानता भनेको बिचार, सिद्धान्त, दृष्टिकोण र नीतिमा हुने हो । संख्यामा समानता हुँदैन,’ उनले भने, ‘यसबारेमा संयोजन समितिले टुंगो लगाउने भएकाले अहिले तल्ला कमिटीको एकीकरणबारे निर्णय हुन नसकेको हो ।
केन्द्रीय कमिटीको संख्या २९९ राख्ने सहमति भए पनि त्यसमा एमालेका र माओवादीका कति-कति सदस्य रहने भन्ने विषय अहिले सबैभन्दा पेचिलो बनेको छ । एमाले नेताहरुले आफ्ना २ सय केन्द्रीय सदस्य र माओवादीका ९९ जना समायोजन गरेर २९९ सदस्यीय बनाउन सकिने प्रस्ताव राखेको छ । तर माओवादी पक्ष त्यसमा सहमत छैन ।
त्यस्तै ७ प्रदेश, ७७ जिल्ला, ७५३ स्थानीय तहहरुको नेतृत्व समायोजनबारे पनि छलफल हुन बाँकी छ ।
भातृ संगठनहरुको एकीकरण
स्रोतका अनुसार पार्टी एकीकरणपछि केन्द्रीय संगठन विभागले तल्ला कमिटीहरुको एकीकरणको कार्यविधी बनाउनेछ । केन्द्रीय कमिटी जुन सिद्धान्तबाट बन्छ, सोहीअनुसार तल्ला कमिटीहरु एकीकरण गर्न सजिलो हुने नेताहरुको ठम्याइ छ ।
एमाले र माओवादीका भातृ संगठनहरुको एकीकरण भने तत्काल नहुने भएको छ । अहिले नै भातृ संगठनहरुको एकीकरण गर्नेतिर फस्दा पार्टी एकता नै भाँडिने खतरा रहेको नेताहरुले बताए ।
