सलमान बने जेलको कैदी नम्बर १०६

२३ चैत्र २०७४, शुक्रबार ०८:५६

चैत २३, काठमाडौं ।

कालो हरिण शिकारको अभियोगमा पाँच वर्ष जेल सजाय पाएका बलिउड नायक सलमान खानले पहिलो रात जेलमा बिताएका छन् ।

जोधपुर जेलमा राखिएका सलमान बनेका छन्, कैदी नम्बर १०६ । उनलाई जेलको दोस्रो खण्डमा राखिएको छ ।

सलमानले पाँच बर्षको जेल सजाय मात्र पाएका छैनन्, १० हजार जरिवाना पनि तिर्नुपर्ने भएको छ ।

अन्य आरोपी सेफ अलि खान, तब्बु, सोनाली बेन्द्रे र निलमलाई अदालतले सफाइ दिएको छ ।

जोधपुरका जुडिसियल मेजिस्ट्रेटमा सजायमाथि भएको बहसमा सरकारी वकिलले धेरै सजाय हुनुपर्ने माग गरेका थिए भने सलमानका वकिलले सबैभन्दा कम सजायको माग गरेका थिए ।

अदालतको फैसला सुन्ने वेलामा सबै आरोपी अदालतमा उपस्थित थिए । सलमान खान, सेफ अलि खान, तब्बु, सोनाली बेन्द्रे र नीलम अदालतमै थिए । सलमान खान मुम्बईवाट प्लेन चार्टर गरेर पुगेका थिए ।

यो घटना चलचित्र हम साथ साथ हैको सुटिङको क्रममा भएको थियो । सन १९९८ मा सलमानले जोधपुरको कणकणी गाउँको भागोडाको ढाणीमा दुई कालो हरिण शिकार गरेका थिए ।

हरिण सिकारको दिन सबै कलाकार जिप्सी कारमा गएका थिए भने सलमानले सवारी चलाएका थिए । हरिण देख्ने बित्तिकै सलमानले गोली चलाएका थिए । सोही क्रममा दुई हरिण मरेका थिए । हरिण मारेको थाह पाएर स्थानीयले पिछा गरेपछि सलमानको समूह मृत हरिण छाडेर भागेको थियो ।

सजाय सुनाउँदै न्यायाधीशले भने– सलमान फिल्म स्टार हुन, उनलाई दुनियाँले हेरिरहेको हुन्छ

अपराधको प्रकृति, विभिन्न तथ्य, सलमानविरुद्व लागेको आरोपले पनि सलमानले अपराध गरेको पुष्टि भएको उनले फैसला गरेका थिए ।