मनमोहन अधिकारी : एसियाकै पहिलो निर्वाचित प्रधानमन्त्री

१३ बैशाख २०७५, बिहीबार ०६:३९

वैशाख १३, काठमाडौं ।

आज दक्षिण एसियाकै पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री तथा एमालेका पहिलो अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवस हो । एमालेले विभिन्न कार्यक्रमका साथ आज उहाँको स्मृति दिवस मनाइरहेको छ ।

चुनावी अभियानकै सिलसिलामा अधिकारीको ०५६ साल वैशाख १३ गते ९२६ अप्रिल २६ मा निधन भएको थियो । काठमाडौंको गोठाटारमा आयोजित एक कार्यक्रममा अचानक बेहोस भएपछि उपचारकै क्रममा अधिकारीको निधन भएको थियो । अधिकारी त्यस निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ र ३ बाट एमालेका उम्मेदवार थिए ।

अधिकारी ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए भने २०५१ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिएृ । त्यसपछि उनले कम्युनिष्टको अल्पमतको सरकारको नेत्तृत्व गरेका थिए । वाम तथा प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष अधिकारीले नेपालको इतिहासकै स्वच्छ प्रधानमन्त्रीका रुपमा ९ महिने सरकारको नेतृत्व गरेका थिए । उनी ०१० सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनबाट महासचिव पदमा निर्वाचित भएका थिए ।

नेपालमा पहिलोपटक मनमोहन नेतृत्वको सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक भत्ताको व्यवस्था गरेको थियो । एमालेले यसलाई निरन्तरता दिंदै आएको छ । तत्कालीन माले र मार्कस्वादीको एकीकरण भई ०४७ सालमा नेकपा एमाले निर्माण भएपछि मनमोहन एमालेको अध्यक्ष बनेका थिए । उनी जीवन पर्यन्त एमालेको अध्यक्ष रहे । मनमोहनको निधनपछि एमालेले अध्यक्ष पद खाली राखेको थियो । ०६५ को आठौं महाधिवेशनबाट मात्र एमालेले अध्यक्षको व्यवस्था गरेको थियो ।

अधिकारीले अंग्रेजविरुद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकीकरण गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ००३ सालमा बिराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका अधिकारी नेपालको पहिलो मजदूर नेता पनि हुन् ।

उनले करीब ६ दशक नेपाल कम्युनिस्ट पार्टीको नेताका रूपमा राजनीतिक आन्दोलनको नेतृत्व गरेका अधिकारीले पटक पटक गरी करीब १७ वर्ष लामो कठोर जेल जीवन पनि बिताएका थिए ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निष्ठाको खडेरी परेको नेपाली राजनीतिमा अधिकारीको अभाव सधैं खड्किरहने बताएका छन् ।