प्रधानमन्त्री र सांसदको सवालजवाफ महिनाको दुईपटक, संसदीय समिति बनाउन प्रस्ताव

४ बैशाख २०७५, मंगलवार ०७:५९

वैैशाख ४, काठमाडौं ।

हाल प्रतिनिधिसभा नियमावली मस्यौदा निर्माणको काम जारी छ । समितिका संयोजक कृष्णभक्त पोखरेलले नयाँ व्यवस्थासहित नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

रिपोर्टस क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा संयोजक कृष्णभक्त पोखरेलले महिनाको दुईपटक प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गर्न लागिएको जानकारी पनि दिए ।

 

‘महिनाको दुईपटक सीधा प्रश्न प्रधानमन्त्रीसँग गर्ने व्यवस्था गर्न लागिएको छ । जवाफदेहिता बढाउनका लागि प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिनुपर्छ,’ साक्षात्कारमा पोखरेलले भने ।

 

विगतमा सांसदहरुले बोलेका कुरा रेकर्ड मात्रै हुने परिपाटी थियो । प्रधानमन्त्रीले मात्र नभै सांसदले विशेष र शून्य समयमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने व्यवस्था पनि नियमावलीमा राख्न लागिएको उनले जानकारी दिए ।

 

त्यसैगरी संसदमा के विषयमा बोल्ने भन्ने कुरा पनि एक दिन अगाडि नै सांसदलाई जानकारी दिने व्यवस्था गर्न लागिएको उनले बताए ।

 

संसदीय समिति बनाउन प्रस्ताव

पोखरेलले १० वटा संसदीय समिति बनाउने प्रस्ताव गर्न लागिएको जानकारी पनि दिए । विगतमा धेरै समिति बनाइए पनि अब घटाएर १० वटा मात्रै कायम गर्ने उनको भनाइ छ । यस विषयमा प्रतिपक्ष दलको समेत सहमति लिइने उनले बताए ।

अब बस्ने संसद बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदन पेश गरिने पोखरेलले जानकारी दिए । प्रतिवेदन संसदमा पेश गर्नुअघि सबै दलका सचेतकसँग छलफल गरिने उनले बताए ।