डिएसपी सञ्जय राउत पक्राउ : ३३ किलो सुन प्रकरण

१३ बैशाख २०७५, बिहीबार ०७:०५

वैशाख १३, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको ३३ किलो सुन र मोरङका सन शाक्य हत्या प्रकरणमा बयान लिँदा लिँदै गृह मन्त्रालयबाट फरार भएका प्रहरी नायव उपरीक्षक डिएसपी पक्राउ परेका छन् ।

गृह मन्त्रालयमा बयान दिन पुगेका बेला ट्वाइलेट (शौचालय) जान्छु भन्दै फरार भएका डिएसपी सञ्जय राउत २४ घण्टापछि पक्राउ परेका हुन् ।

डिएसपी राउत बयान दिन गएका बेला मंगलवार दिउँसो गृह मन्त्रालयबाटै फरार भएका थिए । २४ घण्टापछि उनी आफैं सम्पर्कमा आएका गृह मन्त्रालय स्रोतले बताएको छ । आफैं सम्पर्कमा आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर गृह मन्त्रालयमा बुझाएको बताइएको छ ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे छानवीन गर्न गृह मन्त्रालयका सहसचिव इश्वर पौड्यालको संयोजकत्वमा गठित समितिले राउतसँग आजै बयान लिने र त्यसपछि थप अनुसन्धानका लागि मोरङ पठाउने तयारी गरेको छ ।

३३ किलो सुन प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआईजी, बहालवाला एसएसपी, एसपी, डिएसपी र सई तानिसकेका छन् ।

पूर्व डिआईजी गोविन्द निरौला, वहालवाला एसपी विकासरात खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ३३ किलो सुन प्रकरणमा प्रहरीबाहेक अन्य २० जनालाई पनि हिरासतमा लिएर अनुसन्धान भइरहेको बताइएको छ ।